वीरेन्द्रनगरमा खानेपानीको गुणस्तर जाँच सम्बन्धि प्रशिक्षण

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा खानेपानी गुणस्तर जाँच तथा सुरक्षित खानेपानी समुदाय घोषणा सम्बन्धी प्रशिक्षक प्रशिक्षण शुरू भएको छ ।

तीन दिन सम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सूदुरपश्चिम प्रदेशका ५ वटा नगरपालिकाहरू दशरथचन्द, पुर्चौडी, कमलबजार, बडीमालिका र त्रिबेणी तथा कर्णाली प्रदेशका ५ वटा नगरपालिकाहरु खाडाचक्र, रास्कोट, छायाँनाथ रारा, चन्दननाथ र वीरेन्द्रनगर नगरपालिकाका वास फोकल पर्सनहरू , स्वास्थ्य संयोजकहरू, स्थानीय गैर–सरकारी संस्थाहरुको गरी ३१ जनाको सहभागिता रहेको छ ।

नेपाल नगरपालिका संघका वास म्यानेजर उमाशंकर यादवले खुला दिसामुक्त अवस्थाको दिगोपना, सुरक्षित खानेपानी युक्त समुदाय, पूर्ण सरसफाइ र हात धुने बानीको विकासका लागि यो कार्यक्रम सञचालन गरिएको बताए । उनले भने, ‘पालिकाहरूको वास कार्यक्रमको दिगोपनाको लागि वाससँग सम्बन्धित ऐन, नीति निर्देशिका र वास प्लान निर्माणमा नेपाल नगरपालिका संघले प्राविधिक सहयोग गर्दै आइरहेको छ ।’

यस्तै, युनिसेफ नेपालका राजेस सारु मगरले दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि सुरक्षित खानेपानी पनि महत्वपूर्ण रहेको बताए । उनले पानीको प्रदुषणका कारणले पानीजन्य रोगहरु लाग्ने गरेकोले पानीको गुणस्तर अनुगमन गर्न आवश्यक रहेको बताए । बिहीबारदेखि शुरू भएको कार्यक्रमको उद्घाटन भने कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका वास फोकल पर्सन रमेश सुवेदीले गरेका हुन ।

सुवेदीका अनुसार दिगो बिकास लक्ष्य पूरा गर्न सबै सरोकारवालाहरुको सहयोग आवस्यक रहेको, कर्णाली प्रदेश सरकारले प्रदेशमा पानी परिक्षण प्रयोगशाला स्थापना गरेको, प्रदेश लोकसेवा आयोगमा खानेपानी सुरक्षा योजना समावेश गरेको, खानेपानी गुणस्तरलाई प्रदेशले प्राथमिकतामा राखेको, खुला दिशामुक्त अवस्थाको दिगोपनाको लागि भईरहेको प्रयासको बारेमा समेत प्रष्ट पारेका थिए । युनिसेफ नेपालको सहयोगमा नेपाल नगरपालिका संघले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण शनिबार सम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया