कर्णाली प्रदेश : तीन वर्षभित्र १५ देखि १९ वर्षका ४० हजार बढी किशोरी गर्भवती

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो समयमा बालविवाहको दर बढ्दै गएको छ । कर्णाली संवाद समूहले गरेको ५ दिनको सर्वेक्षण अनुसार वितेको तीन वर्षमा कर्णालीका १५ देखि १९ वर्ष समूहमा किशोरकिशोरीले बालविवाह गरेको तथ्याङक सार्वजनिक गरेको हो ।

कर्णाली संवाद समूहले आइतबार वीरेन्द्रनगरमा बेस संस्था तुलसीपुर दाङले आयोजना गरेको सङ्घीयता कर्णाली प्रदेशको अवस्थामा भन्ने कार्यक्रममा यस्तो तथ्याङक प्रस्तुत गरेको हो । संवाद समूहले दिएको तथ्याङक अनुसार कर्णाली प्रदेशभर बितेको तीन वर्ष भित्रमा १५ देखि १९ वर्ष उमेरका किशोरकिशोरीको कम उमेरमा बिवाह गरेका ४० हजार नौ सय ६१ किशोरीहरु गर्भवती भएका छन् ।

                                                 फाइल फाेटाे

हाल कर्णाली प्रदेशमा किशोरकिशोरीहरुले १८ वर्ष नपुगि गर्ने बालविवाहको उच्चतम दर ३४.६ प्रतिशत रहेको पाईएको छ । यस्तै, रुकुमपश्चिमको सामाजिक विकास मन्त्रालयमा उपलव्ध तथ्यांक अनुसार बालबिवाहको दर कर्णाली प्रदेशमा सबैभन्दा उच्च रहेको बताएको छ ।

गत तीनवर्षमा रुकुमपश्चिम जिल्लामा ७१.६ प्रतिशतले बालबिवाहका भएको छ । दैलेखमा ७०.६६ प्रतिशत, सल्यानमा ६९.८८ प्रतिशत, जुम्लामा ६१.७६ प्रतिशत, सुर्खेतमा ६८.८२ प्रतिशत, जाजरकोटमा ६५.८३ प्रतिशत, कालिकोटमा ५९.१७ प्रतिशत, मुगुमा ५७.३९ प्रतिशत, हुम्लामा ५२.३८ प्रतिशत र डोल्पामा ४९.९५ प्रतिशतले बालविवाह गरेका छन् ।

यस्तै, संवाद समूहलाई दैलेख जिल्ला अस्पतालले प्रत्येक दिन भिडियो एक्सरे गर्ने क्रममा ४० प्रतिशत महिलामध्ये करिब ७५ प्रतिशत केसमा महिला २० वर्ष मुनिका रहेको तथ्याङक उपलब्ध गराएको छ । यसभित्र पनि धेरै किशोरीहरू १९ वर्ष पुग्दासम्म उनिहरुले २ वटा बच्चाबच्चि समेत जन्माई सकेका हुन्छन् । उमेर नपुगि बिवाह गरेपछि धेरै पटक गर्भवती हुनाले किशोरी आमाहरुमा पाठेघर खस्ने समस्या अधिक भएको चिकित्सकहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया