राष्ट्रिय गौरवको आयोजना

भेरी–बबई डाइभर्सनको ५३ प्रतिशत काम सकियाे

सुर्खेत । सुर्खेतमा निर्माण भइरहेको राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको ५३ प्रतिशत काम सकिएको छ । बाह्रै महिना सिँचाई सुविधा पुर्याउने र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएर आर्थिक वर्ष २०७१/०७२ बाट डाइभर्सन आयोजनाको निर्माण कार्य शुरु गरिएको हो ।

आयोजनान्तर्गत नेपालमा पहिलो पटक टनेल बोरिङ्ग मेसिन (टिविएम) मार्फत लक्ष्य अगावै सुरुङ ब्रेक थ्रु गरिएको थियो । हाल दोस्रो चरणमा बाँध तथा पावरहाउस निर्माणको काम भइरहेको भेरी बबई डाइभर्सन बहुउदेश्यीय आयोजना सुर्खेतका सिनियर डिभिजनल ईन्जिनियर लेखनाथ सुवेदीले जानकारी दिए ।

उनकाअनुसार भेरी नदी किनार चिप्लेमा हेडवर्कस (बाँध), सर्ज, साफ्ट, पेनस्टक, पावरहावस, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल निर्माणको काम भइरहेको छ । आर्थिक वर्ष २०७९/०८० मा आयोजना निर्माण सक्ने लक्ष्य जलस्रोत तथा सिँचाई विभागको छ । आयोजनाको कुल लागत ३६ अर्ब ८० करोड बजेट रहेको छ ।

योमध्य भेरी बबई डाइभर्सनतर्फ ३३ अर्ब १९ करोड र भेरी कोरिडोर विकास आयोजनाका लागि तीन अर्ब ६१ करोड बजेट रहेको सुवेदी बताउँछन् ।

उक्त बजेटमार्फत आयोजनाबाट प्रभावितहरुलाई भूमिगत/लिफ्ट सिँचाई, कुलो, पुनर्निमाण, सिंचित क्षेत्र तथा इन्टेक बचावट (तटबन्धन) निर्माणमा खर्चिएको सुवेदीले उल्लेख गरे । सिंचाई विकास तथा सामाजिक विकासअन्तरगत भेरी कोरीडरमा सतह, सौर्य तथा विद्युतीय लिफ्ट सिँचाई निर्माण गरिएको छ ।

लिफ्ट सिँचाइतर्फ सात हजार र सतह सिँचाइतर्फ नौ हजार हेक्टर जमिनमा सिँचाई पु¥याइउने लक्ष्य रहेको आयोजनाले जनाएको छ । ‘कोरोना महामारीले आयोजना निर्माणमा केही प्रभावित भएपनि हाल तीन चरणमा काम भइरहेको छ,’ सुवेदीले भने, ‘आयोजनाको फागुन मसान्तसम्म भौतिक प्रगति ५३ प्रतिशत भएको छ ।’

भेरी नदीको चिप्लेमा एक सय १४ मिटर लामो ब्यारेजसहित एक सय ५८ मिटर डिसेन्डिङ बेसिन र टनेल इन्ट्री पोर्टलको निर्माण भइरहेको छ । पोर्टलमा चार वटा ढोका हुनेछन् भने भेरी नदी वारपार गर्न पुल पनि निर्माण गरिनेछ । दोस्रो चरणको काम २०८० साउन २९ भित्र बाँध निर्माण सक्ने गरी रमण/ग्वाङ्डोन जेभीले जिम्मा लिएको छ । आयोजना सकिएपछि १२ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर पानी भेरी नदीबाट बबई नदीमा खसालिनेछ ।

भेरी नदीमा सुक्खायाममा ८० घनमिटर पानी प्रतिसेकेन्ड बग्छ । एक सय ५२ मिटर लामो हेडको प्रयोगबाट ४६.८ मेगावाट विद्युत् उत्पादनका लागि विद्युत् गृहको निर्माण गरी वार्षिक तीन सय ८५ गिगावाट आवर विद्युत् उत्पादन गर्ने आयोजनाको योजना छ । भेरी नदीबाट बबईमा खसालिएको पानीले लुम्बिनी प्रदेशका बर्दिया र बाँकेका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुनेछ ।

‘पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आयोजना समयमै सक्नुपर्छ’

आयोजना निर्माण सम्पन्न पश्चात् लुम्बिनी प्रदेशका बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिन सिंचित बनाउने सरकारी लक्ष्य हो । भेरी नदीको पानी बबईमा पु¥याउँदा अपेक्षाकृत उपलव्धी कर्णालीलाई भने पाउने छैन् । तर नीजि क्षेत्रले भने पर्यटन प्रवद्र्धनमा भेरी बबई आयोजनाको देन रहने विश्वास छ ।

‘भेरी नदीमा बाँध बन्दा त्यो स्थानमा आयोजना निर्माण बारे चासो राख्नेहरुको संख्या बढ्न सक्छ,’ सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेल भन्छन्, ‘बाँध क्षेत्रमा फिसिङ्गदेखी बोटीङको व्यवस्था गरेर पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ तर यसका लागि दीर्घकालिन योजना सरकारले बनाउन जरुरी छ ।’

आयोजना निर्माण सम्पन्न नहुँदै धेरै आन्तरिक र बाह्य पर्यटकहरु चिप्ले र बबईस्थित हात्तिखालमा पुगिरहेको कंडेलले बताए । ‘बहुउदेश्यीय आयोजनाबाट सबैलाई उत्तिकै फाइदा पु¥याइरहेको छ, भेरीको पानी बबई नदीमा खसालेर बाँके र बर्दियाको उर्भर भूमिमा खाद्यन्न उत्पादन बढ्छ,’ कंडेल भन्छन्, ‘हामीले पर्यटनमार्फत बेरोजगारहरुलाई रोजगारीमा जोड्ने योजना तय गरेर चिप्लेमा पूर्वाधार विकासमा जोड दिनुपर्छ ।’ सुरुङ लक्ष्य अगावै निर्माण सकेर चर्चा कमाएको आयोजना निर्धारित समयमै सक्नु पर्ने कँडेलको आग्रह छ ।

तपाईको प्रतिक्रिया