धुलियाविट–भेडावारी सडक तत्काल कालाेपत्रे नहुने

सडक किनाराका रुख बाँधक

सुर्खेत, १७ चैत । सुर्खेतको पूर्वी क्षेत्र जोड्ने मुख्य सडक धुलियाविट–भेडावारीको तत्कालिन राजा स्व. वीरेन्द्रनगरलाई देखाउन २०३२ सालमा ट्र्याक खोलिएको हो । झण्डै साढे चार दशकपछि यो सडकलाई मदन भण्डारी राजमार्ग नामाकरण गरेर निर्माण जारी छ । साढे चार दशकपछि कालोपत्रे गर्नेगरी काम शुरु भएपछि स्थानीय उत्साहि भएका छन् । यद्यपी सडक निर्माणको क्रममा रुख कटान गर्नुपर्ने भएपछि यो सडक समयमै नबन्ने संकेत देखिएको हाे ।

२०७८ असार २८ गते निर्माण सम्झौता गरिएको राजमार्गको ढिलागरी शुरु भएको हो । काम गर्ने क्रममा रुख कटान समयमै नहुँदा प्रभावित भएको छ । धुलियाविट–भेडावरी–वोटेचौरसम्मको दुरी ३५ किलोमिटर छ । रुख नभएका क्षेत्रहरुमा कल्भर्ट, नाली, पर्खाल लगायतको काम भइरहेको छ । रुख भएका क्षेत्रको काम अझै शुरु भएको छैन् ।

सडक क्षेत्रमा टाँचा लगाएका एक हजार चार सय बढी रुखहरु कटानमा वन कार्यालय उदासिन छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले सडकमा पर्ने रुखहरु कटान गर्न ताकेता गरिरहेको छ । मन्त्रीपरिषद्को निर्णयबाट नै रुख कटानको अनुमति लिनु पर्ने भएकाले ३० महिनामै नसकिने संकेत देखिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका प्रमुख मुकुन्दप्रसाद लामिछाने बताउँछन् ।

‘कटान गर्नुपर्ने रुखको पहिचान, सामुदायिक वन उपभोक्ता समिति, सवडिभिजन र डिभिजन वन कार्यालयले आवश्यक प्रक्रिया सकिएको छ,’ लामिछानेले नेपालीरैबारलाई भने, ‘रुख कटानसम्बन्धी वन कार्यालयबाट तयार भएको फाइल वन विभाग, मन्त्रालयहुँदै मन्त्रिपरिषद् बैठकले अनुमति दिएपछि मात्र कटानको बाटो खुल्नेछ । तर यो प्रक्रिया कहिले टुंगिन्छ भन्ने अहिले नै भन्न नसकिने भएकाले निर्धारित समयमा सडक कालोपत्रे हुन कठिन छ ।’

सडक विस्तारको क्रममा विद्युतका पोल, ट्रान्सफर्मरलगायत संरचना पनि समयमै नसार्दा काम प्रभावित भइरहेको लामिछाने बताउँछन् । सल्यान र सुर्खेतको सीमाना काल्चेदेखी लगामसम्मको सडकको कुल लम्बाई झण्डै १७४ किलोमिटर छ । यो सडकले पूर्वमा लेकबेँसी, गुर्भाकोट, वीरेन्द्रनगर नगरपालिकाहुँदै पश्चिमका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाको भू–भागलाई समेट्छ ।

सडकको पूर्वी खण्डमा १२ ओटा पुल निर्माणका लागि सम्झौता गरिसकिएको छ । सडक निर्माणको जिम्मा कालिका, केएस भेरासी जेभीले लिएको छ । सडकको कुल लागत एक अर्ब तीन करोड छ । निर्माण व्यवसायीले स्थानीय क्रसरबाट सामग्री प्रयाप्त रुपमा उपलव्ध नहुने भएपछि आफै क्रसर राख्नु पर्ने माग गरेको लामिछानेले उल्लेख गरे । राष्ट्रिय राजमार्गको मापदण्डअनुसार यो सडकलाई नौ मिटर फराकिलो बनाएर सात मिटर सडक कालोपत्रे हुनेछ ।

गुटु–लगाम निर्माणमा अझै अन्यौल

सुर्खेतको पश्चिम खण्डको सडक विस्तारको काम कहिले शुरु हुन्छ भन्ने अझै अन्यौल छ । धुलियाविट–बाँगेशीमलसँग फोरलेन सडक र बाँगेशीमल–बड्डीचौरसम्म कर्णाली राजमार्ग पर्ने भएकाले सडक कालोपत्रे गरिएको छ ।

तर बड्डीचौर–गुटु–लगामको ९४ किलोमिटर सडक कच्ची नै छ । प्रदेश सरकारले बड्डीचौरदेखी पश्चिमको झण्डै १३ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का आह्वान गरिसकेको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका प्रमुख मुकुन्दप्रसाद लामिछानेले नेपालीरैबारलाई बताए ।

यहीँ खण्डको थप पाँच किलोमिटर सडक सडक डिभिजन कार्यालय सुर्खेतले कालोपत्रे गर्नेगरी प्रक्रिया अघि बढेको उनले बताए । उनकानुसार लगभग गुटुसम्म सडक कालोपत्रे हुने र गुटुदेखी लगामसम्मको काम कहिलेबाट शुरु हुने भन्ने अन्यौल छ । सडकको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम सकिएको र बैशाखसम्म वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सम्पन्नपछि आगामी आर्थिक वर्षमा टेण्डर आह्वान हुनसक्ने लामिछानेले जनाए ।

तपाईको प्रतिक्रिया