नेपाल बार निर्वाचन : सुर्खेतमा पनि मतदान जारी

सुर्खेत । नेपाल बार एसोसिएसनको २६ औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनको लागि आज बिहान ८ बजेदेखि मतदान शुरु भएको छ । नेपाल बार एसोसिएसन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार उपत्यकाको काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट एकसाथ मतदान शुरु भएको छ ।

सुर्खेतमा भएकाे मतदानमा हालसम्म ३९ मत खसेकाे छ । सुर्खेतसहित जाजरकाेट र दैलेखकाे मतदान केन्द्र सुर्खेत ताेकिएकाे छ । तीन जिल्लामा ८७ जना मतदाता रहेकाे नेपाल बार सुर्खेतका अध्यक्ष एवम् निर्वाचन संयाेजक नन्दबहादुर भण्डारीले नेपालीरैबारलाई जानकारी दिए । उनकाअनुसार साविक कर्णाली अञ्चलका पाँच जिल्लाकाे जुम्ला र रुकुमपश्चिम तथा सल्यानकाे मतदान केन्द्र दाङकाे तुलसीपुरमा मतदान भइरहेकाे छ । कर्णाली प्रदेशबाट उपाध्यक्ष पदमा बहृत लाेकतान्त्रिक समूहबाट अधिवक्ता उत्तमप्रसाद आचार्य र प्रगतिशिल समूहबाट उपत्यका बाहिरबाट सदस्य पदमा अधिवक्ता गणेश वलीले उम्मेद्वारी दिएका छन् ।

मतदान अपराह्न ४ बजे सम्पन्न हुनेछ । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि निर्वाचन हुनेछ । निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका छन् ।

नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहबीच प्रतिस्पर्धामा छन् । उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन् । बारमा अध्यक्षका लागि व्यक्तिगतरुपमा र समूहगतरुपमा गरी आठ जनाको उम्मेदवारी परेको छ ।

तपाईको प्रतिक्रिया