कामना मृत्यु प्रकरण : प्रहरी हिरासतमा रहेका श्रीमानले कसरी चलाए फेसबुक ?

हिरासतबाट फेसबुक चलाए भन्नु गलत हाे : प्रवक्ता घर्ती

सुर्खेत । वीरेन्द्रनगर–४ भैरवस्थान विवाह गरेकी कामना पाण्डेको रहस्यमय तरिकाले मृत्यु भएपछि उनका श्रीमान सुमित कार्की प्रहरी हिरासतमा छन् । तर, उनी हिरासतमा रहेकै बेला कार्कीले चलाउने फेसबुकबाट अनलाइनमा देखेपछि पाण्डेका आफन्त आश्चर्य चकित छन् ।

पाण्डेको फागुन ३० गते कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको हो । आत्महत्या दुरुत्साहन मुद्दामा कार्कीलाई हदैसम्मको कारवाहीको माग गर्दै माईती पक्षले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी चैत १ गते सुर्खेत प्रहरीमा दर्ता गरेका थिए । उनीहरुले जाहेरी दिएको दर्ता नम्बर ३१४ हो । माइती पक्षले जाहेरी दिनु पूर्व नै पाण्डेको शव भेटिएको दिन कार्कीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । हिरासतमा रहेका कार्की शुक्रबार साँझ ६ बजेर ४८ मिनेटमा सामाजिक सञ्जाल फेसबुक अन गरेको अवस्थामा भेटिएपछि आफन्तले प्रहरीमाथि नै शंका गरेका छन् ।

‘मेरो छोरीका ज्यान रहेन्, न्यायको लागि प्रहरी कार्यालयमा उजूरी दिएको छु । हिरासतमा रहेका कार्की (ज्वाई) मज्जाले फेसबुक चलाइरहेका छन्,’ पाण्डेको आमा ईन्द्रा दाहाल पाण्डेले नेपालीरैबार समक्ष प्रश्न गरिन्, ‘न्यायका लागि म भिख मागिरहेको छु, हिरासतमा रहेको मान्छेले कसरी फेसबुक चलायो । मलाई न्याय कसले दिने ?’ सामाजिक सञ्जाल फेसबुक चलाउनु भनेको उसँग भएका प्रमाणहरु नष्ट गर्ने प्रष्ट देखिएकाले निष्पक्ष छानविनको माग गर्दै मृतककी आमा पाण्डे पुनः निवेदन दिने तयारीमा छिन् ।

के हो घटना ?
पाण्डे र कार्कीविचको प्रेम सम्बन्ध आफन्तको सहमति गरेर धुमधामले विवाह गरेका थिए । पाँच वर्ष अघि विवाह गरेकी पाण्डेको शुरुवाती दैनिक दिनचर्या ठिकठाक चलिरहेको आफन्तहरु बताउँछन् । विस्तारै कार्कीले श्रीमती पाण्डेलाई यातना दिने र कुटपिट गर्ने घटनाहरु बढ्दै गयो । दुवै पक्षका आफन्तहरुले घरभित्रको विवाद बाहिर नल्याएर सहमतिमा घटनाहरु मिलाउँदै आएका थिए ।

गत फागुन ३० गते पाण्डेको रहस्यमय मृत्यु हुनु केही दिन अघि मात्रै वीरेन्द्रनगर-६ बुद्धपथमा रहेको माईतीको होटल अथितिमा आएको सीसी क्यामरामा रेकर्ड छ । ‘अकल्पनिय घटना हुनु पूर्व छोरी होटलमा आएर गएको हो, पीडा भएबारे कुनै खवर हामीलाई गरिन,’ आमा पाण्डेले भनिन्, ‘ज्वाइँ (कार्की)ले यतिसम्म पीडा दिएको रहेछन् जुन अहिले छोरीको मृत्यु भएपछि भेटिएका फोटा र अडियो रेकर्डले हामी छाँगाबाट खसेजस्तै भएका छौं ।’

आफन्तहरुले प्रहरी कार्यालयमा प्रमाणको रुपमा बुझाएका फोटाहरुमा पाण्डेको शरिर भरी नै निलडाम रहेको देखिन्छ । उनको आँखा र शरिरका विभिन्न भागहरुमा चोटहरु छन् । ‘छोरीले आत्महत्या कुनै हालतमा गरेकी हैन् । हानेर मारेपछि ज्वाईले नै सलको पासो लगाएर झुण्डाइदिएको हो,’ आमा पाण्डेले भनिन्, ‘यो हत्या हो । उसलाई हदैसम्मको कारवाहीको माग गर्दछु ।’

कसरी बढ्यो विवाद ?
पाण्डे र उनका श्रीमान कार्कीविच पछिल्लो विवाद मोटरसाईल बिक्रीपछि देखिएको आमाले प्रहरी कार्यालयमा दर्ता गरेको जाहेरीमा उल्लेख छ । पाण्डेका वुवाको नाममा रहेको कर्णाली प्रदेश ०२–००१ प ८३२७ नम्बरको मोटरसाईलक जवजस्ती कार्कीले लिएर गत असोज १३ गते विक्री गरेका थिए । उनले उक्त नम्बरको मोटरसाईकल एक रिकण्डीशनिङ्ग पसलमा विक्री गर्दा किन विक्री गरेको प्रश्नकै कारण छोरी गुमाउनु परेको आमा पाण्डे बताउँछिन् ।

हिरासतबाट फेसबुक चलाए भन्नु गलत हाे : प्रवक्ता घर्ती
हिरासतमा रहेका व्यक्तिले कसरी सामाजिक सञ्जाल फेसबुक चलाए भन्ने प्रश्नमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले हिरासतमा कार्कीले फेसबुक नचलाएकाे जवाफ दिए । नेपालीरैबारकर्मीले घटनाबारे बुझ्न खोज्दा घर्तीले हिरासतमा रहेकाे व्यक्तिलाई प्रहरीले फाेन चलाउन नदिएकाे र आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान जारी रहेकाे जनाए ।

‘प्रहरी हिरासतमा रहेकाे व्यक्तिकाे फेसबुक एकाउन्ट अनलाइनमा देखिँदा पीडित पक्षले प्रहरीमाथि शंका गर्नु स्वभाविक हाे,’ प्रवक्ता घर्तीले भने, ‘हिरासतबाट नभएर उनकाे नाममा रहेकाे फेसबुक उनका आफन्त वा अरु कसैले चलाएकाे हुन सक्छ । पीडित पक्षले जानकारी दिएपछि घटनाबारे अनुसन्धान भइरहेकाे छ ।’ उनले पीडितलाई न्याउ दिनकै लागि अनुसन्धान गरिरहेकाले प्रहरीकाे अनुसन्धानमाथि शंका नगर्न आग्रह गरेका छन्

पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सुर्खेतको अनुसन्धानप्रति प्रश्न उठाउँदै मानव अधिकार सम्वद्ध निकाय गुहारेका छन् । उनीहरुले शुक्रबार घटनाबारे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतलाई अनौपचारिक रुपमा जानकारी गराइसकेका छन् । आईतबार आफन्तहरुले जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला सरकारी वकिल कार्यालय, प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, राष्ट्रिय महिला आयोग, अनौपचारिक सेवा केन्द्र र आजाव संस्था सुर्खेतलाई निष्पक्ष छानविनको माग गर्दै निवदेन दिने तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया