आईपीएलः मुम्बईको दोस्रो हार, गुजरातको दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बईले लगातार दोस्रो हार बेहोरेको छ। डीवाई पालिट रंगशालामा शनिबार सम्पन्न मुम्बईले राजस्थान रोयल्ससँग २३ रनको हार बेहोरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर १९३ रन बनाएको थियो। जवाफमा मुम्बई २० ओभर खेल्दै आठ विकेट गुमाएर १७० रनमा समेटिएपछि राजस्थानले जित निकालेको हो।

राजस्थानका लागि ओपनर जस बटलरले सतका प्रहार गरे। शतक बनाएपछि बटलर बुमराहको हातबाट आउट भएका थिए। राजस्थानका सन्जु समसनले ३० र सिमरन हेत्मायरले ३५ रनको योगदान दिए।

मुम्बईका जसप्रित बुमराह र टायमिल मिल्सले समान ३-३ विकेट गिराएका थिए।

जवाफमा मुम्बईका इशान किसनले ५४ र तिलक वर्माले ६१ रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन। राजस्थानका युजवेन्द्र चहल र नवदिप सैनीले समान २-२ विकेट गिराए।

त्यस्तै, शनिबार रातिकै खेलमा गुजरातले जित निकाल्दा दिल्ली क्यापिटल १४ रनले पराजित भएको छ। पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो।

जवाफमा दिल्लीले ९ विकेट गुमाएर १५७ रन मात्र बनाउन सकेपछि खेल गुजरातको हातमा पुगेको हो। गुजरातलाई जित दिलाउन सुभमन गिलले ८४ रन बनाए। दिल्लीका मुस्तफिजुर रहमानले तीन विकेट लिए।

जवाफमा ऋषभ पन्तले सबैभन्दा धेरै ४३ रन बनाए भने सानदार बलिङ गरेको गुजरातका लकी फग्र्युसनले चार विकेट गिराए।

यो जितसँगै गुजरात टाइटन्सले दुई खेलबाट चार अंक बनाएको छ। त्यस्तै, समान चार अंक बनाएको राजस्थान रोयल्स चाहिँ तालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानको कोलकात्ताको पनि चार अंक छ।

पराजित मुम्बई इन्डियन्सले खाता खोल्न सकेको छै भने दिल्ली क्यापिटलले एक जित र एक हार बेहोरेको छ।

तपाईको प्रतिक्रिया