आर्यन खानको ड्रग्स मामिलाका साक्षीको अचानक मृत्यु

अनुसन्धानको आदेश

काठमाडाैं । आर्यन खान ड्रग्स मामिलामा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) का स्वतन्त्र साक्षी प्रभाकर साइलको हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।

प्रहरीले यसबारे जानकारी दिएको हो । महाराष्ट्रका गृहमन्त्री दिलिप वालसे पाटिलले साइलको मृत्युलाई संदिग्ध बताउँदै डिजिपी रजनीश सेठलाई यसबारे अनुसन्धान गर्न आदेश दिएका छन् ।

प्रहरीले यसअघि ३७ वर्षका प्रभाकर साइलको शुक्रबार आफ्नो घर माहुल (मुम्बई) मा हृदयघाटका कारण मृत्यु भएको बताएको थियो । त्यसपछि उनलाई अस्पताल पुर्याइएको थियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरेको थियो । यद्यपि, प्रहरीले यो मामिलामा अनुसन्धान भने सुरु गरेको छ ।

समाचार एजेन्सी पिटिआईका एक वरिष्ठ प्रहरी अधिकारीले प्रभाकर साइल पछिल्लो केही दिनदेखि माहुलमा भाडाको घरमा बसिरहेको बताए । उनी यहाँ किन सरे भन्नेबारे पत्ता लाग्न सकेको छैन ।

प्रभाकर साइलका वकिल तुषार खंडारेले साइलको मृत्यु हृदयघातका कारण भएको पुष्टि गरेका छन् । प्रभाकर साइलका परिवारलाई यसमा कसैको षड्यन्त्र भएको आशंका छैन ।

प्रभाकर साइलले एनसीबीका साक्षी केपी गोसावीका बडीगार्ड भएको दाबी गरेका थिए । उनले आफ्नो बयानमा आर्यन खानलाई छुटाउनका लागि उनले गोसावीले कोही व्यक्तिसँग २५ करोडको सम्झौता गरिरहेको सुनेका थिए ।

एनसीबीले पछि अदालतमा प्रभाकर साइलले पछि आफ्नो बयान फेरेको बताएको थियो ।

बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खानलाई अघिल्लो वर्ष ३ अक्टोबरमा मुम्बईको समुद्र तटमा एक क्रुजबाट पक्राउ गरिएको थियो ।

आर्यन र उनीसँगै १९ जनालाई एनडीपीसी ऐन अन्तर्गत पक्राउ गरिएको थियो । उनीहरुमाथि लागुऔषध ओसारपसार, सेवन र बिक्री गरेको अभियोग लगाइएको थियो

यस मुद्दामा आर्यनसहित १८ जना धरौटीमा रिहा भएका छन् भने दुई जना अझै न्यायिक हिरासतमा छन् ।

तपाईको प्रतिक्रिया