गर्मीयाम शुरु भएको छ । यो सिजनमा मुख्यगरी विभिन्न खालका रोगहरु फैलिने जाखिम पनि उत्तिकै हुन्छ । मुटु सम्बन्धी समस्या भएकाहरू जाडोमा हृदयाघात लगायतको डरले विशेष सावधानी अपनाउँछन् । तर गर्मीमा निर्धक्क हुन्छन् । तर विशेषज्ञहरूका अनुसार, मुटुको समस्या भएकाहरूले गर्मीमा समेत सचेत रहनैपर्छ । गर्मी याममा शरीरबाट बढी पानी निस्किन्छ । अर्थात्, शरीरमा निर्जलीकरण (डिहाइड्रेसन) हुन थाल्छ । डिहाइड्रेसनले मुटु रोगीको ज्यान जोखिममा पार्न सक्छ । शरीरमा पानीको कमी भए रक्तचाप घट्न थाल्छ अनि मुटु र मधुमेहका रोगीहरू जोखिममा पर्न सक्छन् । डिहाइड्रेसनका कारण रगत बाक्लो हुन्छ । शरीरका विभिन्न अंगमा रगत पु¥याउन मुटुले बढी मिहिनेत गर्नुपर्छ । मस्तिष्क, मुटु, हातखुट्टा लगायत नसामा रगत जमेर समस्या उत्पन्न हुन सक्छ ।
मुटुको औषधि खाइरहेका व्यक्तिहरू गर्मी याममा डिहाइड्रेसन भएर बेहोस भएको पाउने गरेको चिकित्सकहरु बताउँछन् । मुटुको औषधि सेवन गरिरहेका र पाकाहरूले गर्मी याममा बढी चलखेल गर्दा शरीरमा पानीको कमी हुन्छ र रक्तचाप कम हुन्छ । यसले गर्दा मस्तिष्कमा रगतको प्रवाह कम हुन्छ र सम्बन्धित व्यक्ति बेहोस हुन सक्छ । जोखिम समूहमा परेकाहरूले अत्यधिक गर्मीमा पर्नबाट जोगिनुपर्छ । काममा जानै परे घरबाहिर निस्कनुअघि प्रशस्त मात्रामा पानी वा झोल पदार्थ खानुपर्छ । त्यस्ता व्यक्तिले नुन÷चिनी, पानी र कागतीको सर्बतले खाइरहने गरे शरीरमा खनिज, लवण र पोटासियमको सन्तुलन बिग्रन पाउँदैन । गर्मीले त्यसै पनि मुटु रोगीलाई बढी असर पार्छ, शरीरमा पानीको कमीले झन् बढी नराम्रो गर्छ । डिहाइड्रेसनले गर्दा शरीरमा रगत जमेर समस्या उत्पन्न गर्न सक्छ । यसबाट मुटुको धड्कन बढी हार्ट फेल समेत हुन सक्छ । गर्मीले गर्दा रक्तचाप तल–माथि हुन सक्छ । यस्तै, रक्तचापको औषधि सेवन गरिरहेकाहरूलाई औषधिको मात्रा घटबढ हुन सक्छ । जाडोमा जसरी रक्तनली साँघुरो भएर रक्तचाप बढ्छ, त्यसको ठीक विपरीत गर्मीले गर्दा रक्तनलीको आकार बढेर रक्तचाप घट्न सक्छ । गर्मीले रक्तचाप घट्दा बिरामीलाई रिँगटा लाग्ने, हिँड्न अप्ठयारो हुने, कहिलेकाहीं बेहोस हुने स्थितिसम्म आउन सक्छ । औषधि सेवन गर्ने रक्तचापका बिरामी अत्यधिक गर्मीमा नहिँड्नु नै राम्रो हुन्छ । कतै जानु नै परे प्रशस्त तरल पदार्थ सेवनसँगै गर्मीबाट जोगिने उपाय गर्नुपर्छ । उच्च रक्तचापका रोगीलाई बढी गर्मीमा बढी मिहिनेत हुने र पसिना बगाउने काम गर्नु हुँदैन ।
उच्च रक्तचापका बिरामीहरू गर्मी याममा भीड, हावाको प्रवाह (भेन्टिलेसन) नभएको कोठा वा गाडीमा धेरै बेरसम्म गुम्सिएको अवस्थामा बस्दा वा काम गर्दा रिँगटा लाग्ने र बेहोस हुने स्थिति आउन सक्छ । आफूलाई रिँगटा लाग्न र बेहोसी हुने अवस्था आउन लाग्यो भन्ने थाहा पाउनेबित्तिकै हावा आउने ठाउँमा निस्कनुपर्छ र तरल पदार्थ सक्दो लिनुपर्छ । उभिइरहनु हुँदैन । यति गर्दा पनि आराम नभए देब्रे कोल्टो परेर सुत्नुपर्छ । यसो गर्दा मस्तिष्कमा रगत प्रवाह यथोचित मात्रामा भएर अचेत हुनबाट जोगिन सकिन्छ । बचाउ गर्मी याममा मुटुको समस्याहरू भएकाले त झन् सावधानी अपनाउनुपर्छ नै, स्वथ्य व्यक्तिले समेत दिनहुँ प्रशस्त मात्रामा झोल कुरा खानुपर्छ । मौसम गर्मी हुँदा वा व्यायाम गर्दा त अझ बढी तरल पदार्थ सेवन गर्नुपर्ने डाक्टरहरु सुझाव दिन्छन् ।
जोखिम समूहका व्यक्तिहरूले बढी गर्मीमा हल्का लुगा लगाउनुपर्छ । टोपी वा छाता उपयोग गर्नुपर्छ । टाइट र गाढा रंगका लुगा लगाउनु हुँदैन । सिन्थेटिक, नाइलन, पलिस्टरको सट्टा सुतीका लुगा लगाउनुपर्छ । खाली पेट घरबाहिर निस्कनु हुँदैन । धेरै बेर भोको बस्नु पनि हुन्न । गर्मीमा मद्यपान, धूमपान, चियाकफीको उपयोगबाट जोगिनुपर्छ । मदिरा, चियाकफीका कारण शरीरमा पानीको कमी झन् हुन थाल्छ । घरबाहिर निस्किनुपरे अर्को एक चीज पनि साथमै राख्नुपर्छ र त्यो हो पानी । यसो गरे निर्जलीकरण हुनबाट जोगिन सकिन्छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को तथ्यपत्र अनुसार पानीले शरीरको तापक्रम सामान्य राख्छ । यसले जोर्नीलाई चिप्लोसँगै गद्दाजस्तै बनाउँछ । यसले स्पाइनल कर्डसँगै अन्य संवेदनशील तन्तुहरूलाई जोगाउँछ । फोहोर पदार्थलाई पिसाब, पसिना र आन्द्राका गतिविधिले शरीर बाहिर निकाल्छ । पानीले स्वस्थ व्यक्तिको आधादेखि दुई तिहाइ तौल ओगटेको हुन्छ । बूढापाका र मोटो व्यक्तिको शरीरमा पानीको मात्रा अन्यको दाँजोमा कम हुन्छ, किनभने बोसोको तन्तुमा पानीको कम प्रतिशत हुन्छ । जन्मँदाताका र बाल्यकालमा शरीरको पानीको मात्रा बढी हुन्छ । त्यसैले यो मौसममा आफ्नो स्वास्थ्यको ख्याल राख्नका लागि उच्च सावधानी अपनाउन भने जरुरी छ ।
नेपालीरैबार । २०७८ चैत्र २१, सोमबार