निजामति कर्मचारी संगठनको कर्णाली अध्यक्षमा लामिछाने, दैलेखले जनायाे असन्तुष्टी

सुर्खेत । नेपाल निजामति कर्मचारी संगठनको कर्णाली प्रदेश अध्यक्षमा टंकप्रसाद लामिछाने सर्वसम्मत चयन भएका छन् । लामिछानेको अध्यक्षतामा २९ सदस्यीय संगठनको प्रदेश कार्यसमिति आज सर्वसम्मत चयन गरिएको हो । जिल्ला समन्वय समितिको हलमा भएको अधिवेशनले उपाध्यक्षमा पूर्णबहादुर थापा (दैलेख), चम्फा वली (सल्यान) र गंगाबहादुर आरसी (जाजरकोट) ले जिम्मेवारी पाएका छन् । यस्तै, महासचिवमा राजेश आचार्य (सुर्खेत), सचिवमा मनोज केसी (रुकुम पश्चिम), राजेन्द्र पोखरेल (डोल्पा), सृष्टि शर्मा (दैलेख) र कोषाध्यक्षमा दिनेश दाहाल (दैलेख) निर्वाचित भएका हुन ।

सदस्यहरुमा डिलाराम चपाइँ, हाेमजंग खत्री, हर्क महत, विरमान बाेहाेरा, रुना सेजुवाल, केशवराज न्यौपाने, दिलिप न्यौपाने, टोपबहादुर बयक, मन्दिरनाथ योगी, मानबहादुर रावल, देवी पोखरेल, शेरबहादुर बोहोरा, पर्शुराम काफ्ले, खड्क राज मल्ल, विवेक श्रेष्ठ, जगत विक, हृदेश न्यौपाने, कृष्णकुमार विसी, प्रकाश नेपाली र सावित्री बुडथापा छन् । दैलेखबाट पदाधिकारी र सदस्यमा परेका पाँच जनाले सपथ नखाएर बाहिरिए पनि अन्यले भने सपथ खाएकाे छन् ।

दैलेखको असन्तुष्टी
दैलेखले प्रदेश अध्यक्ष नपाएपछि असन्तुष्टी जनाएर सपथ ग्रहण नगरेरै बाहिरिएको छ । अध्यक्षमा दावेदार गरिरहेका पूर्णबहादुर थापासहित दैलेखबाट पाँच जनालाई पदाधिकारी र सदस्यमा राखिएको छ । तर जहिले पनि सुर्खेतले मात्रै नेतृत्व गर्ने र बाह्य जिल्लालाई हेप्ने प्रवृत्तिले सपथ नखाएर बाहिरिएको थापाले नेपालीरैबारलाई जानकारी दिए ।

‘कठिन परिस्थितिमा सुर्खेत मौन भइदिने बाह्य जिल्लामा बसेर संगठनको हितमा दुःख गरेर काम गर्ने तर नेतृत्व लिँदा हामथाम गर्नेहरुकै हालीमुहाली रहने भएकाले सपथ खानु उचित ठानेनौं,’ थापाले भने, ‘दैलेखका मसहित केही साथीहरुको नाम राखेपछि आपत्ती जनाउँदै हामीले सपथ नखाएर समिक्षा गरिरहेका छौं ।’ केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्ष रेवन्त गौतम, प्रवाशकुमार शाह र भवानी न्यौपाने दाहालले छलफल नै नगगरी हस्तक्षपकारी तवरबाट नयाँ नेतृत्वको नाम वाचन गरेपनि दैलेखका साथीहरुले असन्तुष्टी जनाएको एक प्रतिनिधीले नेपालीरैबारलाई बताए ।

तपाईको प्रतिक्रिया