सञ्चारको हक प्रवद्र्धनमा सूचना अधिकारी जिम्मेवार बन्नुपर्ने

सुर्खेत । स्थानीय तहका गतिविधि तथा सूचनामा नागरिकको पहुँचका लागि त्यहाँ खटाइएका सूचना अधिकारीलाई जिम्मेवार बनाउनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।

सूचना अधिकारी जिम्मेवारी हुन नसक्दा स्थानीय तहले नागरिकको सञ्चारको हक कार्यान्वयन गर्न नसकेको जनाइएको हो । नेपाल पत्रकार महासंघको आयोजना तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको समन्वयमा वीरेन्द्रनगरमा आयोजित ‘सञ्चारको हक प्रवद्र्धनमा स्थानीय तहको भुमिका’ विषय अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका सूचना अधिकारीलाई जिम्मेवार बनाउनुपर्ने सहभागीहरूको माग छ ।

कार्यक्रममा पत्रकार तथा मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापक त्रिभुवन बिसीले स्थानीय तहमा कार्यरत सूचना अधिकारी सूचनाका विषयमा जिम्मेवार नदेखिएको आरोप लगाए ।

यस्तै, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी भने सूचना अधिकारीको जिम्मेवारी दिँदा कर्मचारीलाई थप कार्यभार बढेको बताउँछन् । उनले भने, ‘कर्मचारीले आफ्नो फाँटको काम पनि गर्नुपर्ने भएको छ । यसका साथै सूचना अधिकारीको जिम्मेवारी पुरा गर्दा कर्मचारीलाई काम बढेको छ ।’

यसका लागि प्रत्येक स्थानीय तहमा सूचना फाँटको छुट्टै व्यवस्था गरिनुपर्ने उनको धारणा छ । सूचना प्रविधिको छुट्टै शाखामा यस विषयमा अध्ययन गरेका कर्मचारी व्यवस्थापन गर्न सके सूचना प्रवाहमा सहजता हुने उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवाल, महासंघको प्रदेश तथा जिल्ला शाखाका प्रतिनिधि, भेरीगंगा नगरपालिका उपप्रमुख रेणु आचार्य, जिल्लाका स्थानीय तहमा सूचना अधिकारीको रुपमा कार्यरत कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया