सुर्खेतका व्यापारीविचकाे किचलाे अन्तत उच्च अदालतबाट मत्थर

सुर्खेत ।  सुर्खेत उद्याेग वाणिज्य संघमा देखिएकाे विवाद अन्तत अदालतबाट मत्थर भएकाे छ । पदाधिकारीहरुले निर्वाचन मिति ताेकेसँगै संघमा देखिएकाे विवाद अन्तत अदालतबाट मत्थर भएकाे हाे । पदाधिकारीले विधानअनुसार काम नगरेकाे भन्दै निर्वाचन मिति राेक्नु पर्ने माग गर्दै व्यापारीहरुकाे किचलाे अदालतसम्म पुगेकाे थियाे ।

निर्वाचन प्रक्रिया विधानअनुसार नभएकाे र पदाधिकारहरुले सदस्यता नविकरण गर्न छुटाएकाले नविकरणकाे गर्नुपर्ने भन्दै व्यापारीहरु विचकाे किचलाे संघकाे कार्यालयमा तालावन्दीपछि जिल्ला प्रशासन कार्यालयहुँदै चैत १७ गते याे विषय रिटमार्फत अदालतमा प्रवेश गरेकाे हाे । तर अदालतले चैत १८ गते तत्काल लागि निर्वाचन प्रक्रिया अघि नबढाउन भन्दै दुवै पक्षलाई छलफलका बिहीबार अदालतमा उपस्थिति हुन अल्पकालिन अन्तरिम आदेश दिएकाे थियाे ।

दुवै पक्षविच भएकाे छलफलपछि अदालतका कायममुकाय मुख्य न्यायाधीस शेषराज शिवाकाेटी र न्यायाधीस पुनम सिंह चन्दकाे संयुक्त इजलासले रिट कर्ता सुरेन्द्रकुमार मल्लले माग गरे बमाेजिम अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरिदिएकाे हाे । आदेशपछि तत्कालै संघलाई निर्वाचन प्रक्रिया थाल्ने बाटाे खुलेकाे छ ।

संघको विधानले तोकेको विधि र प्रकृया भित्र रही साधारणसभा सम्पन्न गर्ने लगायत निर्णयहरु गरेको देखिएकाे अदालतले जारी गरेकाे आदेशमा उल्लेख छ । ‘संघले निर्धारित समयमा सदस्यता नवीकरण नगर्ने सदस्यको सदस्यता खारेजी र सदस्यता नवीकरण गर्ने बारेमा सूचना प्रकाशित गरेको देखिएकाे छ,’ आदेशमा भनिएकाे छ, ‘संघले गरेकाे साधारण सभा लगायत निर्वाचन प्रयोजनका लागि भए गरेका कार्यबाट निवेदकको कानूनी तथा संवैधानिक हकमा आघात पुगेको अवस्था नदेखिंदा सुविधा र सन्तुलनको दृष्टिबाट तत्काल अन्तरिम आदेश जारी गर्नु पर्ने अवस्था देखिदैन् ।’ अदालतले चैत १८ गते जारी गरेकाे अल्पकालिन अन्तरिम आदेश खारेज गर्दै निवेदशकाे पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेकाे अदालतका शाखा अधिकृत रत्नप्रसाद उपाध्यायले बताए ।

तपाईको प्रतिक्रिया