सत्ता, शक्तिले युवतीलाई प्रभाव पारेका नर्वेका रक्षामन्त्री एनोक्सेनद्वारा राजीनामा

रक्षामन्त्री ओड रोजर एनोक्सेनले निकै कम उमेरकी महिलासँग आफ्नो वर्षौंदेखिको सम्बन्ध रहेको खुलासापछि राजीनामा दिएका छन्। एनोक्सेनको राजीनामा स्वीकार गरेको पुष्टि गर्दै प्रधानमन्त्री जोनास गाहर स्टोरले रक्षामन्त्रीका बारेमा विभिन्न कुरा बाहिरिएपछि यो एउटा निर्णय आवश्यक रहेको टिप्पणी गरेका छन्।

‘मैले धेरै गलत छनौट र निर्णय गरेको छु। मेरो कार्यले अरूको जीवनलाई अझ कठिन बनाएकोमा सधैँ माफी माग्नेछु’, उनले भने। भिजी दैनिकका अनुसार एनोक्सेनले सन् २००५ मा आफ्नो साथी उच्च माध्यमिक विद्यालयका विद्यार्थी हुँदा प्रेममा परेको खुलेको छ। त्यति वेला ती युवती १८ वर्षकी थिइन् भने एनोक्सेनको उमेर ५० वर्ष पुगिसकेको थियो।

उनको कक्षाका साथीहरूसँग राजधानी ओस्लोस्थित नर्वेको संसद्‌मा एकदिने शैक्षिक भ्रमणमा गएका वेला उनीहरूबीच पहिलो भेट भएको थियो। यात्रापछि ती किशोरीलाई एनोक्सेनले एकदमै घनिष्ठ सम्बन्ध बनाउन र यौन सम्बन्ध राख्न प्रस्ताव गरेको अनुसन्धानले पुष्टि गरेको भिजीले लेखेको छ। अहिले ३० वर्ष नाघेकी ती महिलाले राजनीतिमा उनको रुचिको कारण एनोक्सेनबाट प्रभावित भएको बताएकी छिन्।

ती महिलाका अनुसार एनोक्सेन ऊर्जामन्त्री हुँदा सन् २००६ देखि २००७ को अन्तमा एनोक्सेनको कार्यालयमा कम्तीमा १२ पटक भेट भएको र भेटमा उनीहरूले ‘यौनजन्य क्रियाकलाप’ समेत गरेका थिए। एनोक्सेनले भिजीसँग भने, ‘उनी अफिसमा भेट्न गएको र यौनजन्य कुनै क्रियाकलाप नभएको भए पनि भेटले आपसी प्रेम बढाएको थियो।’

सन् २००७ मा सरकारबाट बाहिरिएपछि मात्र उनीहरू घनिष्ठ भएको दाबी गर्दै शक्तिमा रहेका वेला उनलाई प्रभाव पारेको भन्ने भनाइ गलत रहेको एनोक्सेनले बताएका छन्।

प्रधानमन्त्री स्टोरले गत वर्षको आम निर्वाचनपछि रक्षामन्त्री नियुक्त हुनुअघि नै एनोक्सेनले यस विषयमा जानकारी नदिएको बताए। स्टोरले आफूले सकेसम्म चाँडै नयाँ रक्षामन्त्री नियुक्त गर्ने जनाएका छन्।

तपाईको प्रतिक्रिया