विस्केक । तनावपूर्ण खेलमा नेपालले ताजकिस्तानसँग ११–१ को हार बेहोरेको छ। कीर्गिस्तानको राजधानीमा सम्पन्न भएको एएफसी एसियन फुटसल कप छनोटको दोस्रो खेलमा नेपालले ठूलो हार बेहोरेको हो।
खेलको पहिलो हाफमै कीर्गिस्तानका अलिमखमदोव नकरुज र नेपालका विजय श्रेष्ठले रातो कार्ड पाएपछि खेलाडीले पहिलो हाफको बाँकी समय अन्योलपूर्ण खेल प्रस्तुत गरेका थिए। यसलाई बयान गर्दै प्रशिक्षक गौरव श्रेष्ठ भन्छन्, ‘हाम्रो टिमको मुख्य बल डिस्ट्रिब्युटर विजयले नै रातो कार्ड पाएपछि नेपाली टिमले दोस्रो हाफमा राम्रो प्रदर्शन गर्न सकेन।’
यो हारसँगै नेपाल अर्को चरणमा पुग्नबाट वञ्चित भएको छ। त्यसो त एसियन फुटसल छनोटमा समूह बीअन्तर्गत सबैभन्दा बलियो टिमको रूपमा उज्ज्वेकिस्तान छ। विश्वकप खेलिसकेको हिसाबले ऊ समूहमा बलियो मानिएको थियो। नेपालले पहिलो खेलमै उज्ज्वेकिस्तानको सामना गर्यो। जित निकाल्न भने सकेन। ५–१ को हार बेहोर्यो।
पहिलो खेलको दोस्रो हाफमा पुनरागमनको प्रयास गरे पनि जित निकाल्न नसकेपछि नेपाली टिम दोस्रो खेलमा चाहिँ राम्रो गर्ने प्रयासमा थियो। टिमका कप्तान अनिस श्रेष्ठले भनिसकेका थिए कि नेपालले सबैभन्दा बलियो टिमसँग पनि प्रतिस्पर्धात्मक रूपले खेलेको छ, अब बाँकी खेलमा जितको प्रयास गर्नेछ।
आज नेपालले ताजकिस्तानसँग खेलेको छ। त्यसो त यसअघि खेल्दा पनि नेपालले ताजकिस्तानविद्ध जित निकाल्न सकेको थिएन। आज पनि आदिलले बाहेक अन्य खेलाडीले गोल गर्न सकेनन्।
यसअघि नेपालकै समूहमा रहेका अफगानिस्तान र ताजकिस्तानले बराबरी खेलिसकेका छन्। त्यसैले नेपालले यी दुई टिमहरूमध्ये एकलाई हराएर अर्कोसँग बराबरी खेल्न सक्यो भने अर्को चरणमा पुग्ने सम्भावना रहने थियो। तर, त्यो समाप्त भएको छ। ताजकिस्तानले चार अंक बनाएको छ भने उज्ज्वेकीस्तानले तीन अंक बनाएको छ। नेपालले अर्को खेलमा जित निकाले पनि उज्जवेकिस्तानसँग हेड टू हेडमा पछि पर्ने हुनाले नेपाल दोस्रो खेलबाटै बाहिरिएको हो।
आज नेपालविरुद्ध योरोभ इदरिसले पहिलो हाफमा एक गोल गरे भने उनले दोस्रो हाफमा एक गोल थपे। उनैले खेललाई बराबरीमा ल्याएका थिए।
त्यस्तै, खेलका ताजकिस्तानका सरदोरोवले ह्याट्रिक गरेका छन् भने कुजिइव उमेद, अहिमोव शभोयत र रिजोमोव समान्दरले समान २–२ गोल गरेका छन्।
यसअघिका खेलमा समूह एअन्तर्गत माल्दिभ्सले सबैभन्दा ठूलो हार बेहोरेको छ। यही रंगशालामा आइतबार सम्पन्न भएको खेलमा माल्दिभ्सले इरानसँग १७–० को ठूलो हार बेहोरेको हो।
समूह बीको अफगानिस्तानले पनि दुई महिना अघिबाट इरानमा गएर अभ्यास गरिरहेको थियो। त्यति मात्र होइन उसले इरानको राष्ट्रिय टिमविरुद्ध मैत्रीपूर्ण खेल पनि खेलिसकेको छ। छनोटअघि आठ मैत्रीपूर्ण खेलको दौरान उसले इराक र इरानका लिगका विभिन्न क्लबसँग मैत्रीपूर्ण खेलेको हो। नेपालले अन्तिम खेलमा अफगानिस्तानको सामना गर्दैछ।
यसकारण पनि भोलि(अन्तिम) को खेलमा अफगानिस्तान निकै बलियो रहेको मान्न सकिन्छ। अफगानिस्तानको उद्देश्य पनि के छ भने पहिलो खेलमा हार बेहोरे पनि आउँदा खेलमा जित निकाल्ने छ।
उज्जवेकिस्तानविरुद्धको पहिलो खेलमा नेपालका छ खेलाडीले डेब्यु गरेका थिए। ताजकिस्तानविद्धको खेलमा गोलकिपर विश्वास पौडेलले खेलाडीले डेब्यु गरे। सबै खेलाडीले अन्तर्राष्ट्रिय खेलाडीको मान्यता पाइसकेका कारण र अघि दुई मैत्रीपूर्ण खेलको अनुभव बटुलिसकेको कारण आज नेपाल जितको लक्ष्यसहित मैदानमा आएको थियो।
खेलको सुरुआतमै नेपालले अग्रता पनि बनाएको थियो। तर अग्रता जोगाउन सकेन। त्यससपछि खेललाई योरोवले बराबरीमा ल्याएका थिए।
पहिलो हाफकै अलिमखदोवले १७ औं मिनेटमा ताजकिस्तानका अलिमखमदोव नेक्रुजले मणि लामानको अनुहारमा हातले प्रहार गरेपछि सेकेन्ड रेफ्री कुमी हिरुमाले रातो कार्ड दिएकी थिइन्।
त्यसपछि नेपाली खेलाडीले दबाब बनाउन सुरु गर्यो। तर १८ औं मिनेटमा फिक्सो विजय श्रेष्ठले गोलकिपर विहीन पोस्टमा हातले बल छुनपुग्दा उनले रातो कार्डको सजाय पाएका थिए।
तर, त्यसपछिको ताजकिस्तानले पाएको पेनाल्टीको अवसरमा भने सरदोरोव फ्यजलीले गोल गर्न सकेनन्।
एजेन्सी । २०७८ चैत्र २८, सोमबार