सुरक्षा अवस्था बुझ्न गाउँ केन्द्रीत सुरक्षा निकाय

सुर्खेत । जिल्ला निर्वाचन सुरक्षा समन्वय समिति सुर्खेतले जिल्लाका २० मतदानस्थल ‘अति संवेदनशिल’ रहेको जनाएको छ । मतदानस्थलको स्थलगत निरीक्षण गर्दै समन्वय समितिले सुरक्षा चुनौतिका दृष्टिले अति संवेदनशिल, सामान्य र अति सामान्य केन्द्रका रुपमा वर्गीकरण गरेको हो ।


समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले १३८ मतदानस्थलमध्ये सुरक्षाका हिसाबले २० अति संवेदनशिल, ३३ सामान्य र ७५ केन्द्र अति सामान्य रहेको जानकारी दिए । “विगतका निर्वाचनमा भएका घटना, दलहरुको प्रतिष्पर्धा, भौगोलिक अवस्था लगायतलाई आधार बनाई मतदानस्थलको वर्गीकरण गरेका छौैं,” उनले भने, “स्थानीय तह निर्वाचनमा मतदानस्थलको अवस्थाका आधारमा सुरक्षा व्यवस्था मिलाइनेछ, ती मतदानस्थलबाट मतगणनास्थलसम्म मतपेटिकालाई सुरक्षित ढुवानी गर्न समेत आवश्यक सुरक्षा सजगता अपनाइनेछ ।”

प्रमुख जिल्ला अधिकारी रिजाल, प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेसहित सुरक्षा निकायका प्रमुखहरुको टोलीले जिल्लाका नौ स्थानीय तहमध्ये लेकवेशी र भेरीगंगा नगरपालिकाका मतदानस्थलबाहेक अन्य सबै स्थानको निरीक्षण गरिसकेको छ ।

यसपटक सम्बन्धित स्थानीय तहको मुकाममा नै मतगणना हुँदैछ । निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी क्यामरा जडान गर्न निर्देशन दिएपछि सुरक्षा टोलीले मतगणनास्थल निरीक्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी रिजालले भने, “अधिकांश मतगणनास्थलमा क्यामरा जडान भइसकेका रहेछन्, बाँकी स्थानमा पनि छिटो जडान गर्न निर्देशन दिएका छौं ।”

२०७४ सालको निर्वाचनमा जस्तो यसपटक भुमिगत समूहको हिंसात्मक गतिविधि नहुने सुरक्षा निकायको विश्लेषण छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले निर्वाचनका लागि आवश्यक व्यवस्थापकीय तयारीहरु भइरहेको बताए । मतदान र मतगणनास्थलमा खटिने कर्मचारीहरुको व्यवस्थापन, मतपेटिकाको मौज्दात विवरण अध्ययन, आवश्यक मसलन्दका सामग्रीहरुको व्यवस्थापन गरिरहेको उनको भनाई छ । सुर्खेतमा दुई लाख ३८ हजार ४५७ मतदाता छन् । जिल्लाका १३८ स्थलमा गरी २९१ मतदान केन्द्र छन् । त्यस्तै, जिल्ला प्रहरीले एक हजार २०० म्यादी प्रहरी भर्ना गरी तालिम दिन शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया