यि हुन सुर्खेत जिल्लाका स्थानीय तहमा एमालेबाट उम्मेदवारका आकाँक्षीहरु

सुर्खेत। नेकपा एमाले सुर्खेतले जिल्लाका नौवटै पालिकाका प्रमुख तथा उपप्रमुख एवम् अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन प्रक्रिया सुरु गरेको छ । गुर्भाकोट नगरपालिकाबाहेक अन्यत्र आकांक्षीको संख्या धेरै भएपछि उम्मेदवार छान्न एमालेलाई सकस परेको छ । सुर्खेतको चौकुने गाउँपालिकाको अध्यक्षका लागि निर्मला राना मगर, हरि अधिकारीको दाबी छ भने पञ्चपुरी नगरपालिकाको मेयरका लागि धनबहादुर थापा, रेशम राना मगर, भीम रावत र शान्ति खरालको दाबी छ । बराहताल गाउँपालिकामा घनश्याम पाण्डे इन्द्र केसीको दाबी छ ।

सबैभन्दा बढी वीरेन्द्रनगर नगरपालिकामा मेयर पदका आकांक्षी धेरै देखिएका छन् । यो नगरपालिकामा अमृत विसी, कुलमणि देवकोटा, मोहनमाया ढकाल, महेन्द्र शर्मा, डिलाराम गिरी, निलकण्ठ खनाल, हरिहरनाथ योगीलगायत एक दर्जन बढीले दाबी पेश गरेका छन् । लेकबेशी नगरपालिकाको मेयरमा टिकाराम सोमै, देव राना र शान्ति छन्तेलले दाबी गरिरहँदा भेरीगंगा नगरपालिकामा भने यज्ञ ढकाल, टिकाराम सुवेदी र धनसिंह खड्काले आकांक्षा व्यक्त गरेका छन् ।

गुर्भाकोट नगरप्रमुखमा तिलक खत्रीले दाबी गरेका छन् । यो पालिकामा उनी सर्वसम्मत चयन भएर आउने सम्भावना देखिएको छ । सिम्ता गाउँपालिकामा कविन्द्रकुमार केसी, टेकेन्द्र बस्नेत र ऐनबहादुर चन्दले अध्यक्ष पदमा दाबी गर्दै आइरहेका छन् । चिंगाड गाउँपालिकामा बोधविक्रम जिसीको नाम चर्चामा छ भने बखत खत्रीले पनि अध्यक्ष बन्ने चाहना राखेको एमाले स्रोतले बताएको छ ।

‘हामीले चैत ३० गतेसम्म उम्मेदवार टुंगो लगाउन भनेका छौं । वैशाख तीन गते बस्ने जिल्ला कमिटीको बैठकमा एक महिला अनिवार्य रहने गरी तीनजनाको सिफारिस लिएर आउनु हुन्छ’, ‘अध्यक्ष अमृत विसीले भने, त्यसपछि हामीले आपसी छलफलका आधारमा उम्मेदवारको टुंगो लगाउँछौं ।’

तपाईको प्रतिक्रिया