कर्णालीका ७९ वटै पालिकामा खटिए निर्वाचन अधिकृत

सुर्खेत । यहीँ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन–२०७९ का लागि कर्णालीमा तयारी तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार निर्वाचन सुरक्षा, जनशक्ति तथा भौतिक सामग्री व्यवस्थापन, निर्वाचन अधिकृतको कार्यालय स्थापना लगायतका तयारीहरु अन्तिम चरणमा पुगेको जनाएको छ ।


प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले कर्णालीका ७९ वटै स्थानीय तहका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको अभिमुखीकरण सम्पन्न भएको जानकारी दिए । निर्वाचन आयोगले बुधबार नेपालगञ्जमा कर्णाली र लुम्बिनी प्रदेशका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकारीहरुका लागि एक दिने अभिमुखीकरण सम्पन्न ग¥यो ।

अभिमुखीकरण पश्चात निर्वाचन अधिकृतहरुलाई नियुक्तिपत्र बुझाइएको छ । नियुक्तिपत्र बुझेपछि निर्वाचन अधिकृतहरु आ–आफ्नो स्थानीय तहमा खटिने भएका हुन । प्रदेश निर्वाचन अधिकारी चालिसेले बैशाख ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र त्यस अगावै मानवीय जनशक्तिका साथै भौतिक सामग्रीहरुको व्यवस्थापन कार्य भइसक्ने बताए ।

मुख्य निर्वाचन अधिकृत सदरमुकाम रहेको स्थानीय तहमा तथा अन्य अधिकृतहरु तोकिएको स्थानीय तहको केन्द्रमा रहेर निर्वाचन सञ्चालन तथा व्यवस्थापनका कार्यहरु गर्नेछन् । निर्वाचन अधिकृतहरुले उम्मेदवारको मनोनयन दर्ता, मनोनयन उपर उजुरी लिने, उजुरी उपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिन्ह दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने लगायतका कामहरु गर्नेछन् ।

कर्णालीमा १० लाख १ हजार २८२ मतदाता छन् । ९०७ मतदानस्थलमा गरी एक हजार ३८५ केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी सुर्खेतमा २५ दल तथा कम डोल्पामा ११ दलले निर्वाचनमा भाग लिँदैछन् । यसैबीच, कर्णालीका ९०७ मध्ये २९५ मतदानस्थल अति संवेदनशिल सूचीमा रहेको निर्वाचन सुरक्षा समन्वय समितिले जनाएको छ ।

तीमध्ये सबैभन्दा बढी कालीकोटमा छन् । त्यहाँका ७३ मतदानस्थललाई सुरक्षाका दृष्टिले अति संवेदनशिलका रुपमा वर्गीकरण गरिएको छ । सुर्खेतमा २०, दैलेखमा ४६, सल्यानमा ३८, रुकुम पश्चिममा १९, डोल्पामा २३, हुम्लामा ९, जुम्लामा ४०, मुुगुमा २६ र जाजरकोटमा एक मतदानस्थल अति संवेदनशिलमा छन् ।

सुरक्षा समितिले विगतका निर्वाचनमा भएका हिंसात्मक क्रियाकलाप, भौगोलिक अवस्था, दलीय प्रतिष्पर्धा लगायतलाई आधार बनाएर सुरक्षा रणनीति बनाएको प्रदेश निर्वाचन कार्यालयले जनायो । अति संवेदनशिल र संवेदनशिल मतदानस्थलको सुरक्षा व्यवस्थापनमा सम्बन्धित जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले आवश्यकता अनुसार चार वटै सुरक्षा निकायलाई परिचालन गर्नेछन् । निर्वाचन सुरक्षाका लागि सात हजार ७१३ म्यादी प्रहरी भर्ना गरिएको छ । म्यादीसंगै जनपद, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई परिचालन गरिनेछ ।

तपाईको प्रतिक्रिया