काठमाण्डाैँ । स्थानीय तह निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा मंगलबार बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । खुल्ला सीमा नाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले बताए । बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले गरेका थिए भने भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अमित कुमारले गरेका थिए । सो बैठकमा प्रजिअ पौडेलसहित सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललगायत चारै जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।
नेपालीरैबार । २०७९ बैशाख ७, बुधबार