स्थानीय तह निर्वाचनको मूख्य आकर्षण आज

काठमाडौं। स्थानीय तह सदस्य निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । हिजो मनोनयन दर्ता भए पनि न्यून मात्रामा उम्मेदवारी परेको थियो । साना दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराए पनि विशेषगरी सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेले धेरैजसो ठाउँमा आज मनोनयन दर्ता गराउँदैछन् ।

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि मनोनयन दर्ता हुने भए पनि आइतबार १० हजार बढीमात्रै उम्मेदवारी परेको थियो । बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय राखिएको छ ।

मनोनयन दर्ता भएका उम्मेदवारको सूची आजै प्रकाशन हुनेछ । निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले मनोनयन सकिएपछि आजै साँझ उम्मेदवारहरूको सूची प्रकाशन गरिने बताए ।

यसअघि एकै दिन मनोनयन दर्ता र उम्मेदवारहरूको सूची प्रकाशन गर्नुपर्दा समयको चाप परेको उनको भनाइ छ । सूची प्रकाशनपछि भने १३ बैशाखमा उम्मेदवारविरुद्ध दाबी–विरोध गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

१४ र १५ बैशाखमा मनोनयन पत्र जाँच गर्ने र परेका उजुरीको जाँचबुझगरी निर्णय गर्ने, १५ गते नै उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने, १६ बैशाखमा भने उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया