गठबन्धनभित्रै किचलो : सुर्खेतका नौ पालिकामै काँग्रेसको दावी, भएन सहमति

सुर्खेत । बैशाख ३० गते गर्न लागिएको स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनोटमा गठबन्धन दलहरुविच अझै सहमति जुट्न सकेको छैन् । एक सातादेखी उम्मेद्वार छनोटका लागि गठबन्धनका प्रदेश स्तरिय शीर्ष नेताहरुविच छलफल जारी रहेपनि सुर्खेत र रुकुमपश्चिमको भागवण्डामा ठोस सहमति हुन नसकेको हो ।


नेपाली काँग्रेसले सुर्खेतका नौ वटै पालिकाहरुमा आफ्नो दावेदारीबाट पछि नहट्दा गठबन्धनभित्र सहमति जुट्न नसकेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष कृष्ण जिसी ‘जितेन्द्र’ले नेपालीरैबारलाई जानकारी दिए ।

‘काँग्रेसले जितेका पालिका बाहेक अन्यमा सामजवादी र माओवादीले भाग पाउनुपर्छ भन्दा पनि काँग्रेस सहमत छैन,’ जिसीले भने, ‘समाजवादी र माओवादीलाई उपप्रमुख/उपाध्यक्षमा मात्रै चित्त बुझाउनु पर्ने मनसाय काँग्रेसको हुँदा गठबन्धनभित्र ठोस सहमति भएको छैन् ।’

उनकाअनुसार सुर्खेतमा काँग्रेसले जितेको एक पालिकासहित अन्य थप दुई पालिका माओवादी र समाजवादीले पाउनु पर्ने अडान छ, तर काँग्रेसले दिन नसकिने बताउँदै आएको छ । ‘अन्तिम प्रयासमा सात पालिकामा काँग्रेसले लिनुपर्ने, बाँकी दुईमा समाजवादी र माओवादीलाई दिनुपर्छ भन्ने हाम्रो अडान कायमै छ,’ जिसी भन्छन्, ‘काँग्रेसको मनसाय सबै पालिका आफैले राख्नुपर्छ भन्ने बारम्बार दोहो¥याउँदा भागवण्डा मिल्छ भन्ने सम्भावना कम छ ।’

रुकुमपश्चिममा ६ वटा स्थानीय तह छन । सबै स्थानीय तहमा माओवादी केन्द्रले जितेका पालिका हुन् । यी पालिकामध्य एक पालिका नेपाली काँग्रेसलाई दिन माओवादी केन्द्र तयार छ । तर काँग्रेसले रुकुम पश्चिमको एक पालिका लिने र सुर्खेत नछोड्ने अडानमा काँग्रेस रहेको जिसी बताउँछन् । सहमति नभएपछि मित्रवत् रुपमा निर्वाचनमा जानेसम्मको बहस समेत भइसकेको जिसीले उल्लेख गरे । सहमतिको लागि प्रयास जारी रहेपनि नटुङ्गीदा छुट्टाछुट्टै उम्मेद्वारी मनोनयन दर्ता गरिने जिसीको भनाई छ ।

गठन्धनले प्रदेशका बाँकी आठ जिल्लामा भागवण्डा टुङ्ग्याएपनि कति पय ठाउँमा काँग्रेसभित्रै असन्तुष्टी देखिएपछि छुट्टाछुट्टै उम्मेद्वारी मनाेनयन दर्ता गर्ने गृहकार्यमा छन् । दैलेखकाे चामुण्डामा गठबन्धनबाट नेकपा समाजवादीलाई दिएपनि काँग्रेसले एक्लै चुनाव लड्ने भन्दै विज्ञप्ती जारी गरेर मनाेनयन गर्ने तयारी गरेकाे छ । निर्वाचन कार्यतालिकाअनुसार मनाेनयन गर्ने आज अन्तिम दिन हाे ।

तपाईको प्रतिक्रिया