पत्रकार महासंघ सुर्खेत स्थापनाको ३१ औं वर्ष

महासंघको उद्देश्य हासिल गर्न अझ सशक्त रूपमा लाग्ने प्रतिबद्धता

सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको स्थापना भएको आज ३१ वर्ष पुरा भएको छ । २०४९ साल वैशाख १६ गते स्थापना भएको शाखा सुर्खेत आजदेखि ३१ औं वर्षमा प्रवेश गरेको हो । स्थापना दिवसका अवसरमा महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल र सचिव ललितबहादुर बुढाले शुभकामना सन्देश जारी गरेका छन् ।

सन्देशमा भनिएको छ, ‘दिवसका अवसरमा शाखाका सदस्य, जिल्लामा कार्यरत सम्पूर्ण पत्रकार सञ्चारगृह र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं ।’ ‘शाखा स्थापनाकालदेखि आजसम्म आइपुग्दा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्नुहुने अग्रजहरुप्रति हामी उच्च सम्मान व्यक्त गर्दछौं,’ सन्देशमा उल्लेख गरिएको छ ।

पत्रकारहरुको छाता संस्थाको रुपमा रहेको महासंघले श्रमजीवी पत्रकारहरुको अधिकार, हकहित र स्वतन्त्र पत्रकारिताको संस्थागत विकाससँगै राष्ट्रियता, लोकतन्त्र र जनअधिकारका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको अध्यक्ष बसेलले बताए ।

उनले अग्रजहरुको योगदान र महासंघको गौरवपूर्ण इतिहासप्रति जिल्ला शाखाले गर्व गरेको बताए । आगामी दिनमा पनि जस्तोसुकै प्रतिकुल अवस्थामा पनि अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्त रूपमा लाग्ने प्रतिबद्धता अध्यक्ष बसेल र सचिव बुढाले व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया