घर घर पुगेर मतदाता फकाउँदै उम्मेद्वार

सुर्खेत । राजनीतिक दलहरू यतिबेला स्थानीय तहको निर्वाचनमा केन्द्रित भएका छन् । मतदानको मिति नजिकिँदै गर्दा उम्मेदवारलाई भोट माग्ने चटारो छ । वैशाख ३० मा हुने निर्वाचनमा आफ्नो पार्टी र उम्मेदवारको पक्षमा जनमत जुटाउन नेता कार्यकता चुनावी अभियानमा व्यस्त छन् । चुनावको मुखमा मतदाता फकाउन उम्मेदवारसहित घरदैलो सुरु भएको हो ।

केही उम्मेदवारले एकसरो मतदाता भेटिसकेका छन् भने कतिपय घरदैलो गर्ने तरखरमा छन् । विगतमा झैं यसपटक पनि उम्मेदवारहरू लिखित आश्वासन बोकेर मतदाताको घर आँगनमा पुगेका छन् । मतदाता रिझाउन आश्वासको नाम दिइएको छ, प्रतिबद्धता–पत्र ।

यसपटक सुर्खेतमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी ‐राप्रपा०ले चुनावी अभियानलाई अरु दलभन्दा अगाडि नै मतदातासम्म पु¥याएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) चुनावी तालमेलको अन्योलका कारण मतदातासम्म पुग्न ढिलो भएको छ । यद्यपि, यी दलहरूले पनि शनिवारदेखि चुनावी अभियानलाई अघि बढाएका छन् । तालमेल भएका ठाउँमा दलहरूका संयुक्त प्रतिबद्धता–पत्र बनेका छन् । एक्लैै चुनावमा भिडेका दलहरू आ–आफ्नै घोषणा–पत्र, सङ्कल्प र प्रतिबद्धता लिएर गाउँ पसेका हुन् ।

शुक्रवारको केन्द्रीय गठबन्धनको निर्देशनपछि सुुर्खेतमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भयो । वीरेन्द्रनगरमा पाँच दलीय गठबन्धनले छुट्टाछुट्टै रूपमा मनोनयन दर्ता गरेका थिए । शुक्रवार दुई दलबीच तालमेलको सहमति भएपछि केहीको उम्मेदवारी फिर्ता भएको छ । सुर्खेतका नौ वटै स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल गरिएको हो । सत्तारुढ गठबन्धनको एक घटक एकीकृत समाजवादीले भने सुर्खेतमा तालमेल गरेको छैन ।

एमाले र राप्रपा पनि एक्ला–एक्लै चुनावी मैदानमा होमिएका छन् । उम्मेदवारी दर्ता गरेदेखि नै घरदैलो थालेको एमालेले वीरेन्द्रनगर नगरपालिकाको प्रतिबद्धता–पत्र शनिवार सार्वजनिक गरेको छ । ‘स्थानीय सरकार एमालेको साथमा, विकास र समृद्धि जनताको हातमा’ भन्ने नारासहित सार्वजनिक भएको प्रतिबद्धतामा ‘एक घर एक महिला स्वरोजगार’, ‘एक घर दुई बिरुवा, हामी आफै कुरुवा’ जस्ता नाराहरू समेटिएका छन् साझा विसाैनी दैनिकमा रजनी याेगीकाे वाइलाइनमा प्रकाशित छ ।

एमालेले नगर क्षेत्रभित्रका सडकहरूको स्तरोन्नति गरी नगरबस सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै, उपयुक्त स्थानमा विमानस्थलको सम्भाव्यता अध्ययन थालिने प्रतिबद्धतामा उल्लेख छ । ‘स्वास्थ्य, शिक्षा, पूर्वाधार र रोजगारीलाई प्रतिबद्धतामा समेटिएको छ,’ नगर प्रमुखका उम्मेदवार मोहनमाया ढकालले भनिन्, ‘हामीले गर्न सम्भव हुने र आवश्यक विषयहरूमा प्रतिबद्धता जनाएका छौँ ।’

एमालेले वीरेन्द्रनगरको खानेपानी तथा सरसफाइको समस्या तीन वर्षभित्र दीर्घकालीन रूपमा हल गर्ने बताइएको छ । त्यसका लागि भेरीको पानी लिफ्ट प्रविधिमार्फत वीरेन्द्रनगर उपत्यकामा ल्याउने जनाइएको छ । सहायक राजमार्गको विस्तृत परियोजना प्रतिवेदन बनाउनेदेखि वैकल्पिक बसपार्कको सम्भाव्यता अध्ययनसम्मका योजना अघि बढाइने एमालेका उम्मेदवारहरूको प्रतिबद्धता छ । साइबर कानुन निर्माण गर्ने र मेट्रिक ठेगाना प्रणाली लागू गर्नेजस्ता विषय पनि प्रतिबद्धता–पत्रमा समेटिएको ढकालले बताइन् ।

उनी भन्छिन्, ‘जनजीविकाका सवालसँगै हामीले पूर्वाधार र प्रविधिलाई पनि महत्व दिएका छौँ ।’ यस्ता प्रतिबद्धता अघिल्लो निर्वाचनमा पनि नआएका भने होइनन् । एमाले मात्रै होइन सबैजसो दलले २०७४ को निर्वाचनमा पनि यस्तै आश्वासन दिएर भोट लिए । तर, तीमध्ये केहीबाहेक अधिकांश प्रतिबद्धता कागजमै सीमित भए । गएको स्थानीय निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवारले जितेका थिए ।

उम्मेदवारको टुुँगो लागेसँगै कांग्रेस र माओवादी केन्द्रले ढिलागरी घरदैलो अभियान शनिवारबाट मात्र सुुरु गरेका छन् । नगर प्रमुखको उम्मेदवार कांग्रेस र उपप्रमुख माओवादीले पाएको छ । यी दुई दलबीच वडाहरूको तालमेल भने अझै मिलेको छैन । उम्मेदवारी आ–आफ्नै दिएपनि मिलाउने प्रयास भइरहेको कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले बताए ।

उनका अनुसार कांग्रेसले पार्टीको घोषणा–पत्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ । ‘वडाको टुुँगो लाग्न एक-दुुई दिन लाग्ला,’ उनले भने, ‘तैपनि उम्मेदवारले घरदैलो अभियान थालिसक्नुु भएको छ । हामी छिट्टै वीरेन्द्रनगरको चुनावी प्रतिबद्धता सार्वजनिक गर्नेछौँ ।’ घर–घरमा भोट माग्न मात्र नभइ जनताका समस्या बुुझ्ने तरिकाले आफ्ना उम्मेदवारहरू गइरहेको उनको दाबी छ । चुनावी अभियान गठबन्धनको अलमलले गर्दा केही ढिला भएपनि अब भने तीव्रताका साथ अघि बढ्ने सुवेदी बताउँछन् ।

एकीकृत समाजवादीले पनि वीरेन्द्रनगर नगरपालिकाको प्रतिबद्धता–पत्र ल्याएको छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष मोहन बडुवालले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई विशेष प्राथमिकतामा राखिएको बताए । समाजवादीको घोषणा–पत्रमा वीरेन्द्रनगरमा नगर मेडिकल कलेज स्थापना गर्नेदेखि मावि तहमा रात्रीकालीन पठन–पाठन सुरु गर्नेसम्मका योजना समेटिएको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले वीरेन्द्रनगरका लागि आफ्ना प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ ।

राप्रपाबाट नगरप्रमुुखका उम्मेदवार बनेका मुकुन्दश्याम गिरीले सुुखी र खुसी नगरबासीको परिकल्पना गरेर प्रतिबद्धता–पत्र सार्वजनिक गरिएको जनाए । राप्रपाले उपत्यका नगर विकासलाई व्यवस्थित रूपमा सञ्चालन गर्नेदेखि विमानस्थल विस्तारलाई प्राथमितामा राखेर काम गर्ने प्रतिबद्धता गरेको हो । यही प्रतिबद्धता–पत्र लिएर घरदैलो गरिरहेको गिरीले बताए ।

तपाईको प्रतिक्रिया