श्रमिक दिवस : कर्णाली असल श्रम सम्बन्धबाट टाढै

सुर्खेत । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कर्णाली प्रदेश संगठन कमिटीले आइतबार सुर्खेतको वीरेन्द्रनगरमा १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । अंग्रेजी वर्षको मे १ का दिन विश्वभर मनाउदै आइरहेको श्रमिकहरुको खुशीको पर्वका रुपमा प्रदेशको राजधानी वीरेन्द्रनगर भ्यालीका औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत संगठित श्रमिकहरुको उल्लेख्य सहभागितामा दिवस मनाएको हो ।


कर्णालीका मजदुरहरु जहिले पनि मजदुर नै रहे, सदिऔंदेखि कालापहाड, सात समुन्द्रपारीको देश, भोका पेट, एकसरो कपडा र दुई छाक खानाका लागि अनवरत खुन पसिना बगाइरहेको यथार्थ हो । रोजगारदाताले बिदा नदिनु, श्रम शोषण गरिरहनु, मजदुरको अधिकार कुण्ठित गर्नु, न्यून ज्याला र नियुक्ति पत्र विना रोजगारीमा राख्नु कर्णालीको सत्यता भएको सहभागीको भनाइ छ । झट्ट देख्दा जति सजिलो हुन्छ, गहिराईमा पुगेर अध्ययन, अनुसन्धान र समिक्षा गर्नु आजको माग रहेको उनीहरुले बताएका छन् ।

दिवसका अवसरमा शुभकामना मन्तव्य दिंदै जिफन्ट प्रदेश अध्यक्ष तेज प्रकाश जिसीले नजिकिदै गरेको स्थानीय तहको चुनावमा केन्द्रीत गरी जसरी आम श्रमिकहरुलाई परिचालन गरिएको र त्यसको उपलब्धि हामीले बैशाख ३० को चुनाव पश्चात परिणाम देखिने बताए ।

‘हामी प्रारम्भिक चरणमा छौं, श्रमिकहरुको हरेक समस्या समाधानका लागि त्रिपक्षीय सम्वाद, असल श्रम अभ्यास, सुदृढ श्रम बजार व्यवस्थापन र न्यायपूर्ण श्रम प्रशासनका लागि सबै क्षेत्रका श्रमिकहरु एक ढिक्का हुन आव्हान गर्दछु,’ अध्यक्ष जिसीले भने । समय सापेक्ष ट्रेड युनियन गतिविधिहरु नियमित सञ्चालन गरिने उनले प्रतिवद्धता जनाए ।

जिसीले नेकपा (एमाले) नगर कमिटीको चुनावी प्रतिवद्धतामा समेटिएका श्रम र रोजगार क्षेत्रका मागहरुलाई उम्मेद्वारले जितिसकेपछि पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनु पर्ने बताए । उनले पहिलो प्राथमिकतामा श्रमिकहरुको पक्षमा स्थानीय सरकार उभिनु पर्ने धारणा राखे ।

शुभकामना मन्तव्य दिंदै नेकपा (एमाले) जिल्ला कमिटी सदस्य टीका अधिकारीले जिफन्ट श्रम क्षेत्रको साथै नेतृत्व विकास, क्षमता प्रदर्शन र युवा महिला सशक्तिकरणको पहरेदार भएकोले नीतिगत कार्यान्वयनमा जोड दिने संगठन भएको बताए ।

कार्यक्रममा जिफन्ट प्रदेश सदस्य तथा नगर कमिटी सदस्य रत्नलाल न्यौपानेले शुभकामना मन्त्व्य दिंदै श्रमिकहरु काँधमा काँध मिलाएर जागरुक हुनु आजको आवश्यकता रहेको बताए । प्रदेश सचिव श्रीपाल सारु मगरले सञ्चालन गरेको कार्यक्रममा विभिन्न क्षेत्रका क्रियाशील श्रमिकहरुको सहभागिता रहेको थियो भने उपाध्यक्ष राधा श्रेष्ठले स्वागत गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया