स्थानीय तह निर्वाचन–२०७९

चिङ्गाडमा पनि भाँडियो गठबन्धन, काँग्रेसलाई मत नदिन माओवादीकाे उर्दी

सुर्खेत ।  जिल्लाकाे चिङ्गाड गाउँपालिकामा पनि  गठबन्धन भाँडिएको छ । भागवण्डामा नेपाली कांग्रेस र नेकपा माओवादीबीच सहमति नजुट्दा अन्तत गठबन्धन भाँडिएको हो ।

नेकपा माओवादी केन्द्र चिङ्गाड गाउँ कमिटीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान नगर्ने मतदातालाई उर्दी जारी गर्दै विज्ञप्ती नै जारी गरेपछि गठबन्धन भाँडिएको छ ।

नेपाली कांग्रेसले आफुहरुलाई धोका दिएको भन्दै माओवादीले गठबन्धन तोडेको जनाएको छ । नेकपा (माओवादी केन्द्र) चिङ्गाड अध्यक्ष समरबहादुर कामी र सचिव महेश जिसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रदेशमा भएको सहमति विपरित कांग्रेस लागेकाले कांग्रेससँग तालमेल गर्ने च्याप्टर सकिएकाे विज्ञप्तीमा उल्लेख छ ।

पूर्व सहमतिमा चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने र माओवादीतर्फबाट विजयी भएका दुइ र एमाले विजयी भएकाे वडा माओवादी केन्द्रलाई दिनु पर्ने अडान माओवादीले राखेकाे थियाे । काँग्रेसले सवै वडामा आफ्ना उम्मेद्वार कायमै राखेपछि सहमति भाँडिएकाे माओवादी केन्द्र नेकपा माओवादी केन्द्र चिङ्गाड गाउँ कमिटीका सचिव जिसीले नेपालीरैबारलाई जानकारी दिए ।

२०७४ काे निर्वाचनमा चिङ्गाडमा नेकपा माओवादीले वडा नम्बर ३ र ५ वडाध्यक्ष जितेकाे थियाे । तर नेकपा एमालेले जितेकाे वडा नम्बर ६ पनि माओवादीले पाउनु पर्ने भन्दै सहमतिकाे प्रयास असफल भएकाे हाे ।

चिङ्गाड गाउँ कमिटीको नेत्तृत्वमा गठबन्धन गरी निर्वाचन लड्ने अन्य ३ वटा वडा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन गरी निर्वाचन लड्ने प्रदेश स्तरमा सहमति भएको उल्लेख गरेको छ । तर, यो निर्णयको माओवादी केन्द्रबाट पूर्णरूपमा पालना भएपनि कांग्रेसतर्फबाट उल्लंघन गरिएको विज्ञप्तिमा जनाइएकाे छ ।

माओवादीबाट वडामा उम्मेद्वार भएपनि पालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार छैनन् । ६ वटा वडा रहेको चिङ्गाड गाउँपालिकामा २ नम्बरमा दुई वडा सदस्य पाएको र चुनावमा कांग्रेसलाई सहयोग गर्ने माओवादीले जनाएको छ । तर बाँकी १, ३, ४, ५ र ६ नम्बर वडामा भने आफ्नो पार्टीको उम्मेद्वारलाई मात्रै भोट दिने माओवादीले निर्णय गरेको जिसी बताउँछन ।

माओवादी केन्द्रबाट १ नम्बरको वडा अध्यक्षको उम्मेद्वारमा चन्द्रबहादुर वली, ३ नम्बरमा मानबहादुर घर्ति, ४ नम्बरमा बीरबहादुर वि.क, ५ नम्बरमा क्षेत्रबहादुर राना र ६ नम्बर वडको वडा अध्यक्षको उम्मेदवारा घनश्याम घर्ति छन् । चिङ्गाडको अध्यक्ष पदमा नेपाली कांग्रेसबाट डोरप्रसाद शर्मा र एमालेका वोधबिक्रम जिसी उम्मेदवार उठेका छन् ।

तपाईको प्रतिक्रिया