सुर्खेतमा खाद्यवस्तुको गुणस्तर परीक्षण गर्न ल्याब स्थापना हुँदै

सुर्खेत । खाद्य वस्तुको गुणस्तर परीक्षणका लागि सुर्खेतमा ल्याब स्थापना हुने भएको छ । खाद्य वस्तुमा मिसावट गरिने अखाद्य वस्तु पत्ता लगाउन सुर्खेतमै ल्याब स्थापना हुने भएको हो ।

सुर्खेतमै खाद्य वस्तुको गुणस्तर परीक्षण गर्ने ल्यावको स्थापना हुने भएपछि नेपालगन्ज धाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले मंगलबार आफ्नो तेस्रो त्रैमासिक समिक्षा कार्यक्रम गर्दै ल्यावको स्थापना गर्ने तयारी रहेको जनाएको हो ।

कर्णाली प्रदेशका १० जिल्ला हेर्दै आएको कार्यालयले खाद्य बस्तुमा अखाद्य वस्तु मिसावट भए नभएको थाहा पाउन परीक्षणका लागि नमुना नेपालगन्ज पठाउदै आएको थियो ।

ल्याब स्थापनाका लागि आवश्यक उपकरण सप्लायर्स कम्पनीले समयमै उपलब्ध गराइ दिएको खण्डमा आउँदो जेठ १० गतेबाट सेवा सञ्चालनमा आउने कार्यालयका प्रमुख भेषबहादुर थापाले जानकारी दिए ।

चालू आर्थिक वर्षको अन्यसम्म निर्माण सक्ने गरी ठेक्का सम्झौता भए पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण आर्थिक वर्ष सकिनै लाग्दा भवनको काम ५० प्रतिशत पुरा नभएको प्रमुख थापाले बताए ।

कार्यालयले ८ कोठाको घर भाडामा लिएर ल्याब स्थापना गर्न लागेको जनाएको छ । भवन निर्माणका सन्दर्भमा कार्यालयले ठेकेदार कम्पनीलाई बारम्बार ताकेता गरिरहेको थापाको भनाई छ ।

यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले स्थापना भएदेखि हालसम्म तीन सय ६८ उद्योग तथा पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा एकसय २१ वटा नमुना संकलन गरिएकोमा ६ वटा नमुनामा सरकारको खाद्य मापदण्ड अनुसार गुणस्तर नभएको भेटिएकाे कार्यालयले जनाएकाे छ ।

हाल मापदण्ड विपरित देखिएका नमुना मध्ये ६ वटा विभन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा मुद्दा प्रक्रियामा रहेका कार्यालयले जनाएको छ ।

यस्तै, संकलित नमुनामाहरुमा चिउरा, चना, दाल, तोरीको तेल, सोया सस, भिनेगरहरु छन् । यी खाद्यवस्तुमा लेवल नराखिएको, अखाद्यवस्तु र दुषित पदार्थ प्रयोग गरेको पाइएको उल्लेख गरिएको छ ।

कार्यालयले हालसम्म अनुगमनका क्रममा फेला परेका करिव सात लाख ८७ हजार चार सय ९५ मूल्य बराबरका अखाद्यबस्तु नष्ट गरेको छ ।

कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले उपभोक्ताको स्वास्थ्यमा ध्यान दिदै स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने खालका खाद्यवस्तु बिक्री नगर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।

बजारमा पाइने अखाद्यवस्तुको नियन्त्रणमा कार्यालयले खेलेको भुमिका सर्हानिय रहेको भन्दै आगामि दिनहरुमा पनि संघले कार्यालयसँग समन्वयात्मक रुपमा काम गर्ने जनाए ।

तपाईको प्रतिक्रिया