स्थानीय निर्वाचन–२०७९

लेकवेशीको साटाफाँटामा गठबन्धनको बृहत आमसभा

सुर्खेत । नेपाली कांग्रेसले लेकवेशी नगरपालिका–१० साटाफाँटमा बृहत चुनावी आमसभा सम्पन्न गरेको छ । साटाफाँटामा भएको चुनावी सभामा नेपाली कांग्रेस प्रदेश कार्यसमिति कोषाध्यक्ष खगिसरा आचार्यले अघिल्लो निर्वाचनमा प्राविधिक कारणले कांग्रेस पराजित भएपनि यस पटक ठूलो मतान्तरका साथ विजयी हुने बताइन् ।

‘पार्टीले स्थानीय तहको निर्वाचनका लागि जनप्रिय उम्मेदवारलाई मेयरमा उम्मेदवार बनाएको छ,’ उनले भनिन्, ‘ठूलो मतान्तरका साथ हामी यो पटकको स्थानीय तहको निर्वाचनमा विजयी हुन्छौं ।’

उनले एमाले नेतृत्वको स्थानीय सरकारले लेकवेशीको विकास र समृद्धिमा कुनै काम गर्न नसकेकाले जनताहरु निरास रहेको बताइन् । ‘विकास गर्ने पार्टी कांग्रेस हो भन्ने जनताले बुझिसकेका छन्,’ उनले भनिन्, ‘कांग्रेस विजयी भए जनता निरास हुनु पर्दैन् ।’

नेपाली कांग्रेस सुर्खेतका उपसभापति विष्णुबहादुर खड्काले सुर्खेतका सबै पालिकाहरुमा कांग्रेस र गठबन्धनका उम्मेदवारहरु विजयी हुने बताए । उनले जनप्रतिनिधि नभएरै पछिल्ला पाँच वर्षसम्म कांग्रेसबाट मेयरका उम्मेदवार उमेश पौडेलले जनतालाई गरेको सेवा र सहयोग महत्वपूर्ण रहेको बताए ।

‘कांग्रेस सधैं जनताको साथमा छ भन्ने कुरा यसले पनि पुष्टी गर्छ,’ उनले भने, ‘यस पटक जनताले लेकवेशीमा कांग्रेसको सरकार देख्न चाहनु भएको छ ।’ गठबन्धन दलबीच भएको सहमति अनुसार लेकवेशीमा मेयरमा नेपाली कांग्रेसबाट उमेश पौडेल र एकीकृत समाजवादीबाट उपमेयरको उम्मेदवारमा देउकली थापा छन् ।

मेयर उम्मेदवार पौडेलले कांग्रेसप्रति जनलहर बढ्दै गएकाले गठबन्धनबाट उम्मेदवारी दिएका सबै उम्मेदवारहरु विजयी हुने बताए । उनले लेकवेशीलाई कृषिमार्फत समद्ध बनाउने आफ्नो योजना कार्यान्वयन गर्ने बताए ।

उपमेयरका उम्मेदवार देउकली थापाले गठबन्धनप्रति जनताको आस्था र विश्वास रहेकाले गठबन्धन दलका उम्मेदवारहरु विजयी हुने बताइन् । लेकवेशी–१० का वडासभापति एवम् वडाध्यक्षका उम्मेदवार परशुराम भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्य टोपबहादुर टंलामी, जिल्ला कार्यसमिति सदस्य भूपेन्द्र खड्का, टेकबहादुर गुरुङलगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया