विकासका कामलाई निरन्तरता दिन काँग्रेस र गठबन्धनलाई जिताउनुहोस् : उपसभापति खड्का

सुर्खेत। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कसैको भ्रममा नपरेर वठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका छन्। सुर्खेतमा आयोजित स्थानीय तह निर्वाचन २०७९ लक्षित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति खड्काले राष्ट्रिय हितलाई मध्यनजर गर्दै नेपाली काँग्रेसको नेतृत्वमा चुनावी गठबन्धन गरिएकाले गठबन्धनका विषयमा फैलाईएका भ्रममा नपर्न मतदाताहरुलाई आग्रह गरे।

सुर्खेतको भेरीगंगा नगरपालिकामा आयोजित चुनावी सभा सम्बोधन गर्दै उनले भने, ‘विकास गर्न र भईरहेका विकासका कामलाई निरन्तरता दिनका लागि गठबन्धनलाई जिताउनुहोस्, जहाँ चुनावी तालमेल भएको छ त्यहाँ गठबन्धनका आधिकारिक उम्मेदवारलाई भोट हाल्नुहोस्। जहाँ गठबन्धन बाहेक प्रतिस्पर्धा भएको छ त्यहाँ नेपाली काँग्रेसका उम्मेदवारहरुलाई भोट दिनुहोस्।’

सुर्खेतका सन्दर्भमा बोल्दै उनले भूमिहिनलाई लालपुर्जा वितरणको काम तिव्र गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरे। अहिले भेरीगंगा र गुर्भाकोट नगरपालिकाका भूमिहिनहरुलाई लालपुर्जा वितरण कार्य सुरु भईसकेकाले सबै भूमिहिनले लालपुर्जा नपाउँदासम्म यसको निरन्तरता रहने बताए।

उपसभापति खड्काले गठबन्धन तथा काँग्रेसका एकल उम्मेदवारहरुलाई हिजोका जनप्रतिनिधिहरुले गरेका राम्रा कामहरुलाई आत्मसात् गरी अगाडि बढ्न आग्रह गरेका छन्। ‘अहिलेका जनप्रतिनिधिले गरेका राम्रा कामहरु बोकेर हिड्नुस्, विगतमा भएका गल्ती सुधार्नेगरी अगाडि बढ्नुस्।’ उनले भने।उम्मेदवारहरुलाई सक्रीय भएर मतदातासम्म पुग्न आग्रह गर्दै उनले अहिलेको स्थानीय तह निर्वाचनमा गठबन्धनलाई कसैले हराउन नसक्ने दावी गरे।

चुनावी सभालाई सम्बोधन गर्नेक्रममा उपसभापति खड्काले अब ६५ बर्षबाट बृद्ध भत्ता पाउने व्यवस्था गर्न लागिएको बताए। ‘वृद्ध भत्ता दिन एमालेका मनमोहन अधिकारी नेतृत्वको सरकारले सुरु भएको हो, यसमा बढाउने काम नेपाली काँग्रेस नेतृत्वकै सरकारले गरेको हो,’ खड्काले भने, ‘अब आउँदो बजेटबाटै ६५ बर्ष पुगेका नागरिकले ज्येष्ठ नागरिक भत्ता पाउनुहुन्छ, अबको बजेटमा यो व्यवस्था गरिँदै छ।’

नेपाली काँग्रेस तथा काँग्रेस नेतृत्वको गठबन्धन दलहरुले सुर्खेतमा आयोजना गरेका चुनावी सभालाई सम्बोधन गर्न उपसभापति खड्का आइतबार सुर्खेत आएका हुन्। उनले आइतबार लेकवेशी नगरपालिका र भेरीगंगा नगरपालिकामा आयोजित सभालाई सम्बोधन गरेका छन्।
सोमबार वीरेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्ने तालिका छ। मंगलबार सिम्ता गाउँपालिका र गुर्भाकोट नगरपालिकामा हुने चुनावी सभालाई पनि उपसभापति खड्काले सम्बोधन गर्नेछन्।

तपाईको प्रतिक्रिया