चुनावी दौडाहमा काँग्रेस उपसभापति खड्का आज वीरेन्द्रनगरमा

सुर्खेत । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का चुनावी दौडाहमा हिँडेका छन् । स्थानीय तह निर्वाचन–२०७९ को मिति मुख्यै नजिक आउँदा खड्का चुनावी दौडाहमा हिँडेका हुन् ।

आइतबार बिहान मात्रै गृह जिल्ला सुर्खेत पुगेका खड्काले आइतबार जिल्लामा भएका विभिन्न कार्यक्रमा पुगेर गठबन्धनलाई भोट दिन आग्रह गरेका छन् ।

सुर्खेतको भेरीगंगा नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खड्काले विकास गर्न र भईरहेका विकासका कामलाई निरन्तरता दिनका लागि गठबन्धनलाई नै जिताउनु पर्ने बताए । उनले भने, ‘जहाँ चुनावी तालमेल भएको छ त्यहाँ गठबन्धनका आधिकारिक उम्मेदवारलाई भोट हाल्नुहोस् । जहाँ गठबन्धन बाहेक प्रतिस्पर्धा भएको छ त्यहाँ नेपाली काँग्रेसका उम्मेदवारहरुलाई भोट दिनुहोस् ।’

यस्तै, नेपाली काँग्रेस तथा काँग्रेस नेतृत्वको गठबन्धन दलहरुले सुर्खेतमा आयोजना गरेका चुनावी सभालाई सम्बोधन गर्न आइतबार सुर्खेत पुगेका खड्काले लेकवेशी नगरपालिका र भेरीगंगा नगरपालिकामा आयोजित सभालाई सम्बोधन गरेका छन् भने सोमबार (आज) वीरेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्ने तालिका छ ।

मंगलबार सिम्ता गाउँपालिका र गुर्भाकोट नगरपालिकामा हुने चुनावी सभालाई पनि उपसभापति खड्काले सम्बोधन गर्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया