कर्णालीमा २९८ मतदानस्थल अति संवेदनशील

सुर्खेत । कर्णाली प्रदेशमा आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी पूरा भएको छ। १० जिल्लाका ७९ वटै स्थानीय तहमा रहेका मतदान केन्द्र तथा मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी खटिएको निर्वाचन कार्यालयले जनाएको छ।

१० लाख एक हजार दुई सय ८२ मतदाता रहेको कर्णालीमा नौसय सात मतदानस्थलमा र एक हजार तीनसय ८५ मतदान केन्द्र छन्। यीमध्ये दुईसय ९८ मतदानस्थल अति संवेदनशील रहेका छन्। चारसय ११ संवेदनशील र एकसय ९८ सामान्य रहेको कर्णाली प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए।

प्रदेश राजधानी सुर्खेतमा एकसय ३८ मतदानस्थल र दुई सय ९१ मतदान केन्द्र रहेका छन्। जसमा अति संवेदनशील २०, संवेदनशील ८५ र सामान्य ३३वटा रहेका छन्। यस्तै, दैलेखमा एकसय ३६, मतदानस्थल र दुई सय सात मतदान केन्द्र तोकिएको छ। दलैखमा अति संवेदनशील ४६, संवेदनशील ५५ र सामान्य ३५ मतदानस्थल रहेका छन्।

एकसय ४२ मतदान केन्द्र रहेको जाजरकोटमा ८५वटा मतदानस्थल कायम गरिएकोमा सुरक्षाका दृष्टिकोणले एक मतदानस्थल अति संवेदनशील तोकिएको छ। यस्तै, ५४ संवेदनशील र ३० वटा मतदानस्थल सामान्य छन्। दुई सय एक मतदान केन्द्र र एकसय १४ मतदानस्थल रहेको सल्यानमा ४१ वटा अति संवेदनशील मतदानस्थलको रूपमा परेका छन् भने, ५७ संवेदनशील र १६वटा सामान्यमा परेका छन्।

यस्तै, रुकुमपश्चिममा १९वटा मतदानस्थल अति संवेदनशील पर्दा ४५वटा सामान्य र १२ छन्। रुकुमपश्चिमा ७६वटा मतदानस्थल र एकसय ३९ मतदान केन्द्र रेहका छन्। हिमाली जिल्ला डोल्पामा ६६ मतदानस्थल तोकिदा जम्मा मतदान केन्द्र पनि ६६ नै रहेका छन्। डोल्पामा २३ अति संवेदनशील, २६ संवेदनशील र १७ सामान्यमा केन्द्रका रूपमा परेका छन्।

यस्तै, जुम्लामा ७९ मतदानस्थल तोकिदा एकसय दुई मतदान केन्द्र कायम भएका छन्। जसमा अति संवेदनशील ४०, संवेदनशील १४ र सामान्यमा २५ मतदानस्थल तोकिएका छन्। मुगुमा २६ अति संवेदनशील तोकिँदा ८५ संवेदनशील र ३३ वटा सामान्यमा परेका छन्। मुगुमा जम्मा ६१ मतदानस्थल र ६४ मतदान केन्द्र तोकिएका छन्।

यस्तै, अर्को हिमाली जिल्ला हुम्लामा नौवटा मतदानस्थल अति संवेदनशील क्षेत्रमा परेका छन्, भने ३० संवेदशिल र १३वटा सामान्य छन्। हुम्लामा ५२वटा मतदानस्थल जम्मा मतदान केन्द्र ५४वटा रहेका छन्।

सुरक्षाका दृष्टिकोणले प्रदेशमा सबैभन्दा बढी अति संवेदनशील मतदानस्थलहरू कालिकोटमा रहेका छन्। एकसय मतदानस्थल र एकसय १९वटा मतदान केन्द्र रहेको कालिकोटमा ७३ मतदानस्थलहरू अति संवेदनशील क्षेत्रमा परेका छन्।

यस्तै, संवेदनशील २६ र सामान्य एक मतदानस्थल रहेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ। मतदानस्थलहरूमा हुनसक्ने सम्भावित घटना रोक्न सुरक्षाका चारवटै निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ।

मतदानस्थलमा चारवटा सुरक्षा रेखा बनाई सुरक्षा दिइनेछ। जसमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा म्यादी प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरी खटिनेछन् भने, चौथो घेरामा नेपाली सेना तैनाथ हुनेछ।

कर्णालीका जिल्लाहरूमा जिल्ला निर्वाचन सुरक्षा समितिले विगतका निर्वाचनमा भएका हिंसात्मक क्रियाकलाप, भौगोलिक अवस्था, दलीय प्रतिस्पर्धा लगायतलाई आधार मानेर सुरक्षा रणनीति तय गरेर सुरक्षाकर्मी खटाएको छ।

तपाईको प्रतिक्रिया