कार्यकर्ताको चरम असन्तुष्टिबीच अध्यक्ष शाहले श्रीमतीलाई टिकट दिँदा गुम्यो ठाँटीकाँध, भत्कियो कम्युनिष्टको गढ

सुर्खेत । दैलेखको ठाँटीकाँध गाउँपालिकामा कम्युनिष्टको गढ भत्किएको छ । २०५४ पछिका अधिकांश निर्वाचनमा एकलौटी जीत हात पार्दै आइरहेको नेपाल कम्युनिष्ट पार्टी एमालेले २०७९ सालमा आएर हारको स्वाद चाखेको हो ।

नेकपा एमालेका प्रदेश कमिटि अध्यक्ष विनोदकुमार शाहको गृहपालिका समेत रहेको यो पालिकामा टिकट वितरणमा शाहले हस्तक्षेप गरेको भन्दै नाम सिफारिस गर्ने समयमा नै आपत्ती जनाएका थिए ।

कार्यकर्ताहरुले चुनावमार्फत उम्मेदवार चयन गर्न भाँजो हालेको तथा गाउँ कमिटिका सदस्यलाई अध्यक्ष पदमा आफ्नी श्रीमती लक्ष्मीदेवी शाहलाई मत दिने नभए राजनीति नगर्न भन्दै धम्क्याएको आरोप शाह माथि लागेको थियो । टिकट वितरण गर्ने मुख्य जिम्मा पाएका अध्यक्ष शाहले करिब १० दिन ठाँटीकाँधमा डेरा जमाएर त्यहाँबाट वीरेन्द्रनगरसम्म आफ्नो श्रीमतीको नाम सिफारिस गराएर ल्याएका थिए ।

‘टिकट दिने व्यक्ति नै आफै भएपछि उनको श्रीमतीले टिकट नपाउने कुरै थिएन ।’ एमालेका रुष्ट एक कार्यकर्ताले भनेका थिए, ‘यदि ठाँटीकाँधमा चुनाव जित्ने हो भने टुरिष्ट उम्मेदवारलाई टिकट दिइनुहुँदैन ।’ हुनपनि, एमालेका ती कार्यकर्ताले भनेजस्तै परिणाम देखा परेको छ । सोमबार राती सम्पन्न भएको मतगणनामा प्रदेश अध्यक्ष शाहकी श्रीमती शाह पराजित भएकी छिन् ।

ठाँटीकाँध गाउँपालिकाको अध्यक्षमा काँग्रेसका रक्षबहादुर शाही विजय भएका छन् । उनले २५७१ मत पाउँदा उनका निकटतम प्रतिद्धन्द्धी लक्ष्मीदेवि शाहले २२७९ मत पाईन । एमालेकै उपाध्यक्षका उम्मेदवार देविराम बडुवालल २६९५ मत पाए ।

उतिबेला टिकट वितरणमा एमाले प्रदेश इन्चार्ज यामलाल कँडेलले श्रीमतीलाई दिँदा राम्रो सन्देश नजानसक्ने तर्फ अध्यक्ष शाहको ध्यान केन्द्रीत गराएका थिए तर अध्यक्ष शाहले लक्ष्मी पार्टीको नेता समेत भएको बताउँदै अध्यक्षको टिकट उनैलाई दिने बताएका थिए । अध्यक्ष शाहसँग टिकट वितरण समितिमा रहेका अधिकांश पदाधिकारी नतमस्तक समेत बनेका थिए ।

तपाईको प्रतिक्रिया