विदाको दिन सरकारी सवारी चलाउने माथी प्रशासनको कडाई

सुर्खेत । सरकारले जेठ १ गतेदेखि लागु हुने गरी इन्धन खपत कम गर्न हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै जिल्ला पशासन कार्यालय सुर्खेतले सरकारी सवारी साधनमाथी कडाई गर्न थालेको छ ।

सार्वजनिक विदाका दिन सरकारी सवारी साधन चलाउन नपाईने सरकारको निर्णय अनुसार सुर्खेत प्रशासनले सेतो नम्बर प्लेटका सवारीमाथी कडाई गर्न थालेको हो । आइतबार वीरेन्द्रनगरका विभिन्न ठाउँबाट ५ वटा सरकारी नम्बर प्लेटका सवारी साधन नियन्त्रणमा लिइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार नियन्त्रणमा लिईएका सवारी साधनमा ४ वटा मोटरसाइकल र १ चारपाङग्रे सवारी साधन रहेका छन् । नियन्त्रणमा लिईएका सवारीलाई सम्झाई बुझाइ गरी सोमबार बिहान छोडिएको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार गृहमन्त्रालयको परिपत्र भई आए अनुसार इन्धनको खपत कम गर्न हप्तामा दुई दिन विदा थप गर्ने र विदाको दिन सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको भन्दै प्रजिअ रिजालले नेपालीरैबारसँग भने, ‘सरकारको निर्णय अनुसार अबदेखि कुनै पनि सेतो नम्बर प्लेट भएका सवारी साधन विदाको दिन चलाउन प्रशासनले रोक लगाएको छ ।

प्रशासनको यो निर्णयलाई अटेर गरे जोकोहीलाई पनि कानून बमोजिम नियन्त्रणमा लिई कारवाही हुन्छ ।’ अत्यावश्य काम परेका वा प्रशासनबाट पास लिएकाहरुले भने सवारी चलाउन पाउने प्रजिअ रिजालको भनाई छ ।

तपाईको प्रतिक्रिया