दैलेखको महाबू गाउँपालिका–३ मा २०२४ साल बैशाख २७ गते देवकिरण बुढाको जन्म भएको हो । सामान्य परिवारमा जन्मिएका देवकिरण बुवा रामबहादुर बुढा र आमा जुनादेवी बुढाका पहिलो सन्तान हुन । उनको बाल्यकाल भने गाउँमै घाँस, दाउरा र मेलापात गरेर बित्यो । घरमा पहिलो सन्तान भएकाले देवकिरण घरको काममा धेरै नै खटिने गर्दथ्ये भने परिवारमा सबैका प्यारा थिए । किसान परिवारमा जन्मिएका देवकिरणको अक्षर चिनाई पनि गाउँकै विद्यालयबाट सुरुवात भयो । देवकिरणले कक्षा तीनसम्म गाउँकै विद्यालयम अध्ययन गरे ।
तीन कक्षाभन्दा माथिल्लोे कक्षा अध्ययनका लागि धेरै दुःख भोग्नु परेको उनी सुनाउँछन् । कक्षा ४ मा अध्ययनका लागि महाबु गाउँपालिकाबाट भैरबी गाउँपालिकामा रहेको डाँडीमाडी बजारमा रहेको तत्कालीन हिमालय माध्यमिक विद्यालयमा अध्ययन गरेका हुन् ।
देवकिरणसँगै विद्यालय जान थालेका उनका केही साथीहरुले बीचैका पढाई छोडे । कोही गाउँ घर तिरै खेती किसानमा लागे भने कोही रोजगारीका लागि भारत तिर हानिए । तर, देविरामले आफ्नो अध्ययनलाई बिट मार्न चाहेनन् । कक्षा १ देखि ३ सम्म जन्मेको गाउँमा अध्ययन र कक्षा ४ डाँडीमाडीबाट पास गरेर कक्षा ५ को शिक्षा हासिल गर्न जिल्ला सदरमुकाम दैलेख बजार गए । देवकिरणले नारायण नगरपालिकामा रहेको त्रिभूवन नमूना माध्यामिक विद्यालयमा कक्षा ५ मा भर्ना भए ।
देवकिरणले कक्षा ५ देखि १० सम्मको शिक्षा त्रिभूवन नमूना माध्यमिक विद्यालयबाटै पूरा गरे । सानै उमेरदेखि अध्ययनशिल, लगनशिल र इमान्दर देवकिरणलाई त्रिभुवनको अध्ययनले थप बलियो बनाई दियो । देवकिरण विगत स्मरण गर्छन्, ‘त्रिभुवन नमूना मा.वि. नयाँ बजार दैलेखमा कक्षा ५ देखि कक्षा १० सम्म निरन्तर पाँच वर्ष अध्ययन गरे, यहाँ विद्यालयमा प्रत्येक कक्षाको अन्तिम परीक्षामा प्रथम हुँदै गए, यस विद्यालयमा गरेको अध्ययनले मलाई शिक्षामा थप बलियो बनाई दियो ।’
विद्यालयमा एकाएक देवकिरणको नाम चर्चामा आउँन थाल्यो । एक अब्बल विद्यार्थीको रुपमा समेत उनले आफ्नो पहिचान बनाउँन् सफल भए । देवकिरणले २०४२ सालको एसएलसी परीक्षमा दोस्रो श्रेणी अंक प्राप्त गर्दै उत्तिर्ण गरे । त्यसपछि उच्च शिक्षाको लागि देवकिरण सुर्खेत झरे ।
२०४३ सालमा तत्कालीन वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा भर्ना भए । उनले यहीँ क्याम्पसबाट आइकमदेखि स्नातकोत्तर तहसम्मको पढाइ पूरा गरे । यती मात्रै हैन् देवकिरणले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट एल.एल.वि को समेत अध्ययन गरेका छन् ।
यस्तै, माध्यमिक तह पूरा गरेपछि देवकिरणको जीवन थप संघर्षमय बन्यो । घरपरिवार खेती किसानी गर्ने भएकाले आर्थिक अवस्था मध्यम खालको थियो । तर, देवकिरणलाई पढाई, लेखाईमा घरपरिवारको आर्थिक अवस्थाले पुगेन् । तत्कालै जागिर खाने निर्णय गरे । भने जस्तो जागिर पाएनन् । बिहान आफु क्याम्पस जाने र दिउँसो विद्यालयमा पढाउने काम गरे । लामो संघर्षपछि सरकारी जागिरमा प्रवेश गरे ।
‘सानै उमेरदेखि सरकारी जागिर खाने रहर थियो, निजामति सेवामा प्रवेश गरेर काम गर्ने धोको थियो । निरन्तर सघर्षपछि सफल भए,’ उनीले थपे, ‘सानै उमेरमा सरकारी सेवामा जोडिनुपर्छ भन्ने सोचसँगै २०४५ साल बैशाख ३ गते निजामति क्षेत्रमा प्रवेश गरे । लोक सेवामा नाम निस्किएसँगै २०४५ सालमा मालपोत कार्यालय सुर्खेतबाट सरकारी जागिरेको यात्रा सुरु गरेको हुँ ।’
देवकिरणले सरकारी सेवालाई यतीमै सिमित राख्न चाहेनन् । उनले २०५२ सालमा पुनः लोक सेवा प्रतिस्पर्धाबाट लेखापालामा नाम निकालेर जिल्ला विकास समितिको कार्यालय रुकुम पश्चिममा नियुक्ति भए । देवकिरणले लामो समय रुकुमका जनताको सेवा गर्ने मौका पाए ।
करिब २२ महिनापछि रुकुम पश्चिमबाट सरुवा भएर उनी सुर्खेत फर्किए । देवकिरणले भने, ‘सशस्त्र विद्रोहको अवधिभर सुर्खेतलाई नै कार्यथलो बनाएर सेवा गरे । शान्ति प्रक्रियापछि भने कर्णालीका विभिन्न जिल्लामा बसेर सेवा गरेको छु । शान्ति प्रक्रियापछि माओवादीको त्रास हट्यो । त्यसपछि कर्मचारीलाई जुनसुकै क्षेत्रमा बसेर भए पनि काम गर्ने वातावरण बन्यो ।’
देवकिरणले निजामति सेवामा थप फड्को मार्दै गए । २०६५ सालमा लेखा अधिकृतमा बढुवा भएर सिँचाई डिभिजन कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालय सुर्खेतमा कार्यनुभव उनिसँग छ । २०६७ देखि २०६९ सालसम्म जिल्ला स्वास्थ्य कार्यालय जुम्ला, २०७० सालमा कोष तथा नियन्त्रण कार्यालय मुगुमा समेत जिम्मेवारी बहन गरेर अनुभव उनीसँग छ ।
देवकिरणले २०७१ साल देखि २०७४ साल सम्ममा जिल्ला विकास समिति कालिकोटको लेखा अधिकृतको रुपमा काम गरिसकेका छन् भने २०७५ सालमा स्वास्थ्य कार्यालय र खाँडाचक्र नगरपालिका कालिकोटमा पनि काम गरिसकेका छन् ।
यस्तै, देवकिरण हाल सुर्खेतको गुर्भाकोट नगरपालिकामा लेखा अधिकृतको रुपमा लामो समय काम गरिसकेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय अनुसार आर्थिक तथा प्रशासनीक कामकाज गर्ने गरी गुर्भाकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् ।
नगरपालिकाबाट प्रदान हुने सेवाहरुलाई नागरिक समक्ष प्रभावकारी रुपमा कार्यान्वयन गर्न कर्मचारी संयन्त्रलाई चुस्त र दुरुस्त बनाउनमा उनी तल्लिन छन् । एक किसान परिवारमा जन्मिएको छोरो विगतमा गरेका संघर्षहरुलाई सफलता ठान्दै जनताको सेवामा अवरोत्र खटिनमा उनको अनुहारमा कुनै थकान भेटिदैन् तर उनी भन्छन्, ‘हामी जनताको सेवक हौं जनतलाई खुसी राख्न सक्नु नै हाम्रो कामको सफलता हो । नगरपालिकाका हरेक कामलाई लाभग्राही समक्ष पु¥याउनमा कुनै कसर बाँकी राख्ने छैन् ।’
नविन सुवेदी । २०७९ जेष्ठ ९, सोमबार