यी हुन्, सरकारको नीति तथा कार्यक्रमा समेटिएका कर्णालीका योजनाहरु

सुर्खेत । सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सङ्घीय संसद्मा पेश भएको छ । सङ्घीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका थिए ।
उक्त नीति तथा कार्यक्रममा सुर्खेतमा बन्दै गरेको भेरी बबई बहुउदेश्यीय डाइभर्सनको हेडवक्र्स तथा पावर हाउस निर्माणलाई तिव्रता दिइने भएको छ ।

यस्तै, कर्णालीका हिमाली तथा पहाडी जिल्लामा लिफ्ट सिँचाई सुविधा विस्तार, सरकारी, सार्वजनिक, सामुदायिक र गुठी जग्गाको विद्युतीय लगत तयार गर्ने तथा मालपोत र नापी सम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै अनलाइन प्राप्तको व्यवस्था गर्न सक्ने व्यवस्था मिलाइने जस्ता योजना नीति तथा कार्यक्रममा समावेश गरिएका छन् ।

यस्तै, सुर्खेतको भेरीगंगा रामघाटमा नयाँ प्रादेशीक विमानस्थल निर्माणको काम शुरु गर्ने, हुम्ला सदरमुकाममा आगामी वर्ष सडक सञ्जालले जोड्ने, सवारी चालक अनुमतिपत्र प्रदेशबाटै सरल रुपमा शीघ्र वितरण गर्ने, कर्णाली बृहत् जलाधार क्षेत्रलगायतका महत्वपूर्ण जलाधार क्षेत्रको संरक्षण तथा व्यवस्थापन, सामुदायिक विद्यालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गरिने योजनाहरु नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

त्यस्तै, विपन्न बालकालिकाहरुका लागि कर्णालीमा आवासीय विद्यालय सञ्चालन गर्ने, कक्षा ९ देखी स्नातक तहसम्मको पाठ्यक्रम परिमार्जन गर्दै पढ्दै कमाउँदै कार्यक्रम विस्तार, प्रत्येक विद्यालयमा खेलकुद क्लव स्थापना गर्ने र प्रदेशमा रक्तसञ्चार केन्द्र स्थापना गरिने जस्ता योजना अगाडी सारिएको छ ।

तपाईको प्रतिक्रिया