हुम्लाको तत्कालिन लिमी गाविसका सचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुर्खेत । हुम्लाकाे साविक लिमी गाविसका तत्कालित गाविस सचिव धर्मराज रोकायाविरुद्ध मुद्दा दायर भएको छ । सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा रोकायाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोकाया विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । सचिव रोकायाले आर्थिक वर्ष २०७०/०७१ देखि आर्थिक वर्ष २०७२/०७३ सम्म दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको भन्ने उजुरी निवेदन आधारमा आयोगले अनुसन्धान गरेको थियो ।

आयोगले अनुसन्धान गर्दै जादा रोकायाले सामाजिक सुरक्षा भत्ता रकम वितरणमा सरकारी रकम हिनामिना तथा हानिनोक्सानी गरी नेपाल सरकारलाई गैरकानुनी रुपमा हानी पुर्‍याउने तथा आफू वा अरुलाई गैरकानुनी लाभ पुर्‍याउने बदनियतले कार्यगरेको अख्तियारको आरोप रहेको छ ।

रोकायाले उक्त गाविसबाट आर्थिक वर्ष२०७०/०७१ देखि आर्थिक वर्ष २०७२/०७३ सम्मको सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्दा एउटै ब्यक्तिलाई उस्तै नागरिकता प्रमाणपत्र नम्बर राखी दोहोरो सामाजिक सुरक्षा भत्ताको रकम दुई लाख १९ हजार हिनामिना गरेको अख्तियार पत्ता लगाएको छ ।

रोकायाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिम कसुर गरेको पुष्टि हुन आएको भन्दै अख्तियारले रोकायालाई सोही ऐनको दफा ८ र दफा ८ को उपदफा (१) बमोजिम विगो दुई लाख १९ हजार कायम गरी हदैसम्मको कैद र बिगो बमोजिमको जरिवाना गरी हानिनोक्सानी पुर्‍याएको उक्त रकम रोकायाबाट असुल गर्न मागदाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया