वीरेन्द्रनगरमा खुल्यो बारसहितको दोहोरी साँझ

सुर्खेत । कर्णालीको प्रदेश राजधानी वीरेन्द्रनगरमा अत्याधुनिक किचन बारसहित दोहोरी साँझ सञ्चालनमा आएको छ। लेजेन्ड गु्रप अफ कम्पनी प्रालिले वीरेन्दनगर ६ न्यूरोडमा ‘भिन्टेज किचन बार तथा चौतारी दोहोरी साँझ’ बिहीबारदेखि सञ्चालनमा ल्याएको हो।

दोहोरी साँझको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले गरेका हुन्। किचन बार तथा दोहोरी साँझको उद्घाटन गर्दै शाहीले लगानीकर्ताको लगानीको सुरक्षा नभएसम्म पाहुनाले राम्रो सुविधा नपाउने र व्यवसायी जोखिममा पर्ने खतरा रहेको बताए।

मनोरञ्जनमुलक व्यवसायले प्रदेश राजधानीको विकासमा टेवा पुग्ने भन्दै शाहीले व्यवसायीको आम कर्णालीबासीको सहयोगको खाँचो औंल्याए । कार्यक्रममा वीरेन्द्रनगर ६ का वडाध्यक्ष जनकबहादुर रावलले दोहोरी साँझले कर्णालीको कला संस्कृतिको प्रर्वद्धनमा मद्दत पुग्ने विचार व्यक्त गरे।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले रोजगारी सिर्जना गर्नमा किचन बार तथा दोहोरी साँझ ठूलो प्लेटफर्म रहेको बताए। व्यवसायीलाई सफल बनाउन सबै कर्णालीबासीको दायित्व रहेको उनको भनाई थियो। लगानीकर्ताको तर्फबाट बोल्दै उपेन्द्र खड्काले रेष्टुरेन्ट र दोहोरी साँझ आउने ग्राहकको पूर्ण सुरक्षाको ग्यारेन्टी गरिएकाले ढुक्क भएर सेवा लिन आग्रह गरे।

कम्पनीमा सुर्खेतका युवा व्यवसायी उपेन्द्र खड्का, डम्बर गौतम, विशाल ढकाल र मानव बमको साझेदारी रहेको छ। यो समूहले यस अघि फेसियल हाउस, हर्बल स्पा सञ्चालनमा ल्याइसकेको छ। तीन करोड लगानीमा एउटै घरमा फेसियल हाउसदेखि रेष्टुरेन्ट, बार, दोहोरी साँझ व्यवसाय शुरु गरेको लगानीकर्ताले जनाएका छन्।

फेसियल हाउसको तेस्रो तलामा दोहोरी साँझ, चौथो तलामा रेष्टुरेन्ट, र पाँचौ तलामा बार सञ्चालित छ। लिफ्ट सुविधा, पार्किङ क्षेत्रदेखि बारसम्म अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरिएको छ।

तपाईको प्रतिक्रिया