सुर्खेत । आगामी आर्थिक वर्ष २०७९-०८० का लागि संघीय सरकारले संसदमा बजेट पेश गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।
जसमध्ये चालु खर्चतर्फ ४२ प्रतिशत अर्थात् ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ र पुँजीगत खर्चतर्फ २१.२ प्रतिशत अर्थात् ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेका छन् । यस्तै वित्तीय व्यवस्थापनतर्फ १२.८ प्रतिशत अर्थात् २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताएका छन् ।
संघीय सरकारले ल्याएको बजेटमा कर्णालीमा केही नयाँ योजनाले प्राथमिकता पाएका छन् । वर्षौदेखि चर्चाको विषय बनेको प्रादेशिक विमानस्थलको विषय पुनः सतहमा आएको छ । यस अघि प्रादेशिक विमानस्थलका लागि भेरीगंगा नगरपालिकाको मदाने चौरमा निर्माण हुने भनिए पनि प्राविधिक रुपमा फेल भएपछि आयोजना पछि हटेको थियो ।
आगामी बजेटका लागि कर्णालीमा नयाँ विमानस्थल निर्माण हुने गरी बजेटमा समेटिएको छ । सुर्खेतको रामघाटमा नयाँ प्रादेशिक विमानस्थल निर्माण गरिने बजेटमा उल्लेख छ ।
यस्तै, कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाको दुई वटा नाका तिन्छे र धोमा सुख्खा बन्दरगाह स्थापनाका गरिने भएको छ , जसका लागि सम्भाव्यता अध्ययन गरेर निर्माण कार्य अघि बढाउने योजना बजेटमा समेटिएको छ ।
सुर्खेत–रानिघाट–भुरीगाउँ सुरुङ्ग निर्माणको सम्भाव्यता अध्ययन गरिने भएको छ, भने कर्णालीमा एक सयभन्दा बढीलाई रोजगारी दिनेगरी स्थापना हुने उद्योगलाई १५ वर्षसम्म आय करमा छुट दिइने बजेटमा योजना समावेश गरिएको छ । सरकारको बजेटमा समावेश यी सबै आयोजना नयाँ हुन् । राट्रिय गौरवको आयोजना भेरी–बबई बहुउद्देश्यीय आयोजनालाई निरन्तरता दिईएको छ ।
आयोजनाको हेडबक्स र पावर हाउस निर्माणलाई तीव्रता दिईने जसका लागि २ अर्व २७ करोड वजेट विनियोजित भएको मन्त्री शर्माले उल्लेख गरेका छन् ।
आगामी बजेटमा प्रदेश राजधानी सुर्खेतमा दुई वटा मेडिकल कलेज बन्ने भएका छन् । हालको कर्णाली प्रदेश अस्पतालाई स्तरोन्ती गरी प्रादेशिक मेडिकलका रुपमा विकास गरिने छ । सुर्खेत मेडिकल कलेजलाई अगाडि बढाइने योजना वजेटमा उल्लेख छ । दैलेखको राकम कर्णालीमा सुविधा सम्पन्न ट्रमा सेन्टर निर्माण हुनेछ, भने कर्णाली प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपणका लागि आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री शर्माले जानकारी दिए ।
अर्थमन्त्री शर्माले संसदमा बजेट पेश गर्दै कर्णाली प्रदेशमा कृषि क्षेत्र विकास कार्यक्रम लागु गरिने बताएका छन् । कार्यक्रम अन्तर्गत कर्णालीको फापर, कोदो, गहुँ र जौँ प्रशोधनका लागि उद्योग स्थापना गरिने उल्लेख छ ।
यस्तै, पर्यटकिय पूर्वाधार विकासका लागि मुगुको रारा, डोल्पा, शेफोक्सुण्डो तथा हुम्लाको लिमीलाई पर्यटकिय स्थल बनाउँन पर्यटकिय मार्ग निर्माणमा आवश्यक बजेट विनियोजन गरिएको छ । जडिबुटि र बहुमूल्य पत्थर प्रशोधनका लागि सुर्खेतमा प्रशोधन उद्योगको स्थापना गर्ने जस्ता विषय बजेटमा परेका छन् । खानेपानी पूर्वाधारका सन्दर्भमा सुर्खेतको पूर्वि गुर्भाकोट नगरपालिकामा रहेको सुभाघाट खानेपानी आयोजना निर्माण सुरु हुनेछ ।
यस्तै, जुम्लाको टोप्ला पाटनमा हाइअल्टिच्युट एण्ट टेनिङ्ग सेन्टर निर्माण हुने बजेटमा उल्लेख छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत सल्यान र सुर्खेत खण्डमा पर्ने मदन भण्डारी राजमार्गको स्तरोन्तीको काम जारी राखिने छ । कर्णाली र भेरी करिडोर अन्तर्गतका सडक स्तरोन्ती गरिने छ, भने हिमाली जिल्ला हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडिने छ ।
यस्तै, कर्णालीमा बहुउदेश्यीय तालिम केन्द्र स्थापना गरिने भएको छ । यस्तै, समृद्ध कर्णालीका लागि ‘समृद्ध कर्णाली’ कार्र्यक्रम अन्तर्गत हुम्लाको लिमी र डोल्पाको डोल्पो बुद्धलाई हिमाली शहर र जुम्लाको सिंजामा एकिकृत बस्ती विकास गरिने छ । जलविधुत आयोजना अन्तर्गत फुकोट कर्णाली, जगदुल्ला जलविधुत आयोजनालाई निरन्तरता दिइने छ, भने बेतन कर्णाली जलविधुत आयोजनाको खरिद पक्रिया अगाडि बढाइने बजेटमा उल्लेख गरिएको छ ।
बजेटमा समेटिएका योजनाहरु
- १० औं राष्टिय खेलकूद प्रतियोगिता सुर्खेतमा आयोजना गर्नका लागि पूर्वाधार निर्माण गर्न आवश्यक बजेट विनियोजन,
- कर्णालीको रैथाने बाली, जैविक खेतीको विकास तथा संरक्षणका लागि कृषि क्षेत्र विकास कार्यक्रम लागू गर्ने,
- रारा, हुम्लाको लिमी, मुगुको छायाँनाथ, डोल्पाको शेःफोक्सेन्डोको पर्यटकीय स्थलको रुपमा प्रर्वद्धन गर्ने,
- सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र स्थापना, किम्मती र अर्धकिम्मती पत्थर प्रशोधन केन्द्र सञ्चालन गर्ने,
- कालीकोटमा रहेको फुकोट कर्णाली र जगदुल्ला आयोजना निर्माणका लागि कार्यान्वयन गरिने,
- कर्णालीका कागुनो, मार्सी, टिमुर, सिमी लगायतका उत्पादनको बजारीकरण गर्ने,
- भेरी करिडोर र कर्णाली करिडोरमा विद्युत प्रशारण लाइन विस्तार गर्ने,
- जुम्लादेखि रारा, फोक्सेन्डोदेखि लिमीसम्म पर्यटकीय मार्ग निर्माण गर्ने,
- हिमाली जिल्लामा स्याउ उत्पादन प्रशोधन केन्द्र स्थापना गर्ने,
- जाजरकोटको पत्थर अन्वेषण तथा प्रशोधन गर्ने,
नेपालीरैबार । २०७९ जेष्ठ १५, आईतवार