नक्कली बिल बनाएर १३ लाख हिनामिना गर्ने सुर्खेतका दुई जनाविरुद्ध मुद्दा दायर

सुर्खेत । सुर्खेतका दुई जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ । नक्कली बिल भरपाई बनाई रकम भुक्तानी लिने दुई जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको हो ।

नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेले भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको हो ।

उनिहरुको मिलेमतो र संलग्नतामा नक्कली बिल भरपाई तयार गरी १३ लाख ३७ हजार २० रुपैयाँ हिनामिना गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिका अनुसार सुर्खेतको गढी, लेखगाउँ, कुनाथरीमा नेपाल नागरिक समाज (सिस नेपाल) संस्थाले दिगो आय आर्जन व्यवसायिक अदुवा खेतीको लागि तालिम, गोष्ठी र अभिमुखीकरण जस्ता कार्यक्रम गरेको भनी नक्कली बिल भरपाई बनाई रकम भुक्तानी लिएका थिए ।

अदुवा खेती प्रवर्द्धन कार्यक्रमका लागि राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषसँग सिस नेपाल सुर्खेतले २०७३ चैत्र २७ मा गरेको सम्झौता गरी अनुदान रकम लिएका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनिहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा जनही बिगो १३ लाख ३७ हजार २० रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम ऐ। ऐनको दफा ३ (१) र दफा ३ (१) को देहाय (च) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी ऐ ऐनको दफा १७ बमोजिम हानिनोक्सानी पु¥याएको बिगो असुल उपर हुन मागदाबी गरिएको छ ।

 

प्रेस विज्ञप्ति:- मिति २०७९।०२।१८ गते ।
—————————————————-

जिल्ला सुर्खेत, गढी, लेखगाउँ, कुनाथरीमा सिस नेपाल संस्थाले दिगो आय आर्जन व्यवसायिक अदुवा खेतीको लागि तालिम, गोष्ठी र अभिमुखीकरण जस्ता कार्यक्रम गरेको भनी नक्कली बिल भरपाई बनाई रकम भुक्तानी लिई भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषसँग नेपाल नागरिक समाज (सिस नेपाल), सुर्खेतले मिति २०७३।१२।२७ मा गरेको सम्झौताबाट अनुदान लिई अदुवा खेती प्रबर्द्धन गर्ने जिम्मेवारी तोकी कार्यादेश समेतको आधारमा नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका तत्कालीन अध्यक्ष ओम प्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेको मिलेमतो र संलग्नतामा नक्कली बिल भरपाई तयार गरी रु.१३,३७,०२०।- रकम खाई मास्ने उद्देश्य लिई सरकारी/सार्वजनिक सम्पत्ति बदनियतपूर्वक हिनामिना गरी हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा जनही बिगो रु.१३,३७,०२०।– (तेह्र लाख सैतीस हजार बीस रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३(१) र दफा ३(१) को देहाय (च) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम हानिनोक्सानी पुर्‍याएको बिगो असुलउपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।  

प्रवक्ता
श्याम प्रसाद भण्डारी

तपाईको प्रतिक्रिया