अभिनेता शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौं।  नाबालिग गायिकामाथि जर्बजस्ती करणीको अभियोग खेपिरहेका पल शाहको मुद्दामा उच्च अदालत पोखराले धरौटीमा छाड्न अस्वीकार गरेको छ। उनी जिल्लाको आदेशविरुद्ध पलले आफूलाई धरौटी अथवा साधारण तारेखमा रिहाको माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए। यसअघि जिल्ला अदालतले उनलाई पुपर्क्षका लागि थुनामा राख्‍न आदेश जारी गरेको थियो।

‘जिल्लाको आदेश बेरीतको नदेखिएकाले त्यसलाई बदर गरिरहनुपरेन भन्ने आदेशको आशय छ,’ उच्च अदालत पोखराका रजिस्टार एवम् सूचना अधिकारी विष्णुप्रसाद आचार्यले नेपाल समयसँग भने। उनका अनुसार बिहीबार पलको मुद्दामा उनको तर्फबाट पाँचजना र सरकारी वकिलको तर्फबाट एक जना सहन्यायाधिवक्ताले बहस गरेका थिए। शाहको तर्फबाट कमलामोहन वाग्ले, भानुभक्त सुवेदी, माधव घिमिरे, जगदीश पाण्डे र मिलनध्वज शाहीले बहस गरे। जाहेरीकर्ताको तर्फबाट सरकारी वकिल ईश्वरीप्रसाद ढकालले बहस गरेका हुन्।

नबालिग गायिकामाथि पटकपटक जबरजस्ती करणी गरेको आरोपमा शाहविरुद्ध तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर भएपछि दुवैतिरको जिल्ला अदालतमा थुनछेक बहस भएको थियो। तर दुवै अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो।

पीडित एकै भए पनि घटनास्थल र घटना फरक भएकाले दुवैतिर मुद्दा चलिरहेको छ। दुवै जिल्लाका अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि पल शाहले उच्च अदालत पोखरामा दुवै जिल्लाको थुनेछक आदेशविरुद्ध निवेदन दिएका थिए।

शाहका तर्फबाट कानुन व्यवसायीले दुवै जिल्लाको आदेश बदर गरेर साधारण तारेख या धरौटीमा रिहाइको माग गर्दै उच्च अदालतमा छुट्टाछुट्टै निवेदन दिएका थिए। गत चैत १० गते पललाई जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। सोही मुद्दामा बलात्कार मतियारको अभियोग लागेका पलका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटी तिराएर छाड्न आदेश भएको थियो।

त्यसको केही दिनपछि पूर्व नवलपरासी जिल्ला अदालतले पनि पललाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएको थियो। तर, पुर्पक्षका लागि थुनामा पठाउन गरिएको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत नभएको भन्दै पलका कानुन व्यवसायीले उच्च अदालतमा पुनरावेदन चढाएका थिए।

नाबालिग गायिकाका बुबाले गत फागुनको फरकफरक मितिमा छोरीमाथि पलले बिहेको प्रलोभन देखाउँदै पटकपटक करणी गरेको दुवै जिल्लाको प्रहरी कार्यलयमा जाहेरी दिएका थिए। पलले अन्तिम पटक करणी गरेको घटनास्थल गत वैशाख १४ गते तनहुँ शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित प्रदीप थापाको घरमा भएको भन्दै पीडित परिवार सुरुमा जाहेरी लिएर तनहुँ प्रहरीमा पुगेको थियो। त्यसपछि म्युजिक भिडियो सुटिङको क्रममा पूर्वी नवलपरासीको क्षेत्रभित्र पर्ने गैँडाकोट रिसोर्टमा पनि सुटिङ नै लम्ब्याएर छोरीलाई जबर्जस्ती करणी गरेको भन्दै पीडितका बुबाले गैँडाकोट प्रहरीमा जाहेरी दिएका थिए।

तपाईको प्रतिक्रिया