खाद्य अधिकारका सवालमा अभिमूखिकरण

सुर्खेत । जिल्ला खाद्य अधिकार संजालका लागि खाद्य अधिकारका सवाल पहिचान तथा दस्तावेजीकरण सम्बन्धि पूर्नताजकिय अभिमूखिकरण गरिएको छ ।

खाद्य अधिकारको क्षेत्रमा काम गर्दै आएको फियान नेपालका कर्णाली प्रदेशको आयोजनामा ‘बाच्न पाउने अधिकारको आधार खाद्य अधिकार’ नाराका साथ आइतबार वीरेन्द्रनगरमा अभिमूखिकरण भएको हो ।

अभिमूखिकरण कार्यक्रममा सहभागीहरुले जिल्लामा रहेका सबै भूमिहिन, सुकुम्वासीहरुको विषयमा संघ संस्था तथा सम्बन्धित व्यक्तिहरुको साझेदारीमा लिखित पत्रसहित सरकारलाई ध्यानकर्षण र दबाब दिनु पर्ने बताएका छन् ।

यस्तै कार्यक्रममा सहभागी लक्ष्मीकुमारी शर्माले वीरेन्द्रनगर भित्रका विभिन्न ठाउँहरुमा बसेका बस्तीहरुको व्यवस्थापन सँगै अन्य क्षेत्रमा पनि यस्ता बस्तीहरुको खोजी गरेर राज्यले व्यवस्थापन गर्नुपर्ने बताईन् ।

इन्सेक सुर्खेतका सहजकर्ता बिन्दुलाल रेग्मीले सुर्खेत जिल्लामा रहेका खाद्य अधिकारकाृ सुरक्षाको जोखिमका विषयमा सरकारले ध्यान दिनु पर्ने बताए । साथै रेग्मीले बजार अनुगमनलाई निरन्तता दिनुपर्ने, बाढीपीडितहरुको समस्या समाधान गर्नुपर्ने बताए ।

यस्तै, जिल्ला खाद्य अधिकारका संयोजक जगतकुमार केसीले हाल निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो पालिका वा वडा भित्र रहेका खाद्य अधिकारबाट बञ्चित नागरिकको अधिकार पुरा गर्नु पर्ने बताए । केसीले भने, ‘हालै निर्वाचित जनप्रतिनिधिहरुको बधाई खाने काम मात्रै भएको छ । नागरिकहरुको खाद्य अधिकार पुरा गर्नतर्फ लाग्नु पर्छ ।’

यस्तै, फियान नेपाल कर्णाली प्रदेशका संयोजक प्रकाश नेगीले वीरेन्द्रनगरका १६ वटै वडा र जिल्ला भर रहेका खाद्य अधिकारबाट बञ्चित ठाउँहरुमा ‘बाच्न पाउने अधिकारको आधार खाद्य अधिकार’ नाराका साथ सबै संघ संस्था मिलेर लाग्नु पर्ने बताए ।

यस्तै, उक्त अभिमूखिकरण कार्यक्रमले कार्ययोजना तयार पार्दै खाद्य अधिकारका बारेमा चार वटा सवालका विषयमा छलफल गर्ने निर्णय समेत गरेको छ ।

अबको एक हप्ता भित्र किसानहरुलाई मल, विउ उत्पदानका लागि भूमि, व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयसँग र अषाढ २० गतेसम्म वीरेन्द्रनगर भित्रको भूमिहिन, सुकुमवासीका विषयमा नगरपालिकासँग छलफल गर्ने योजना बनाएको छ ।

यस्तै, असोजको पहिलो हप्ता खाद्य अधिकारीबारे वीरेन्द्रनगर नगरपालिका–५ को श्रीनगर, ३ को पञ्चकोषी झरना टोल र भदौ १५ गते भित्र स्थानीय तहमा खाद्य ऐन निर्माणका लागि पहल गर्ने विषयमा वीरेन्द्रनगर, बराहताल र भेरीगंगा नगरपालिकासँग छलफल गर्ने कार्ययोजना बनाएको छ ।

तपाईको प्रतिक्रिया