उर्लिदो भेरीमा बगेकाहरुको ज्यान जाेखिममा राखेर उद्दार गरेपछि…

सुर्खेत । आइतबार दिउँसो दुई जना भेरी नदीमा बगिरहेकाहरुले उद्दारको गुहार माग्छन् । नदीको गहिरो बहावमा उनीहरु बचाइदिन हात हल्लाउँदै कराइरहेका हुन्छन् । तत्कालै उनीहरुको उद्दारमा सुरक्षा निकायका टोली परिचालन हुन्छ ।

नेपाली सेना र सशस्त्र प्रहरीले डुंगाको सहायताले नदीमा बचाउन जान्छन् । उनीहरुको तत्काल प्राथमिक उपचारदेखी आवश्यक थप उपचारका लागि बाहिर लैजान तयारी अवस्थामा एम्बुलेन्स राखिएको हुन्छ । नदी किनारामै उद्दार गरिएकालाई नेपाल प्रहरी र रेडक्रसको टोली उपचारस्थलसम्म लैजान स्टेचरसहित तयारी अवस्थामा रहन्छन् ।

दुइ जनाको उद्दार गरेलगत्तै नदीमा फेरि दुई जना युवा बगिरहेका हुन्छन् । सेना र सशस्त्रको टोलीले विपदको बेला स्थानीय स्रोत साधानबाट बनाइएका उद्दारका सामग्रीबाट उनीहरुलाई बचाउँछन् । तर एक जना नदीको विच भागमा रहेकाले बाढीको उच्च वहावका कारण बचाउन समस्या हुन्छ । त्यहीँ बेला पुलबाट सशस्त्र प्रहरीका दुई जना डोरीको सहायताले नदीमा हाम फाल्छन् । मद्दतका लागि सेना र सशस्त्रको अर्को टोलीले डुंगा लिएर उद्दार गर्छन् ।

माथी उल्लेखित परिदृष्य वास्तविक नभएर जिल्ला प्रशासन कार्यालय सुर्खेतले मनसुन शुरु भएसँगै विपदको समयमा हुन सक्ने सम्भावित घटनामा कसरी उद्दार गर्ने भनेर आयोजना गरिएको पूर्व अभ्यास हो । करिव दुई घण्टासम्म लेकवेशी नगरपालिकाको चिप्लेस्थित भेरी नदीमा सुरक्षा निकायका तीन ओटा टोलीले विपद समयमा उद्दारका लागि पूर्व तयारी गरेका हुन् ।

विपद जानकारी दिएर नआउने भएकाले आपतमा परेकाहरुको उद्दार कसरी गरिन्छ भन्ने विषयमा स्थानीय तह र नागरिकहरुलाई जानकारी दिन कार्यक्रम गरिएको हो । पूर्व अभ्यास कार्यक्रममा विपदको समयमा आवश्यक स्रोत साधन नभएको बेला स्थानीयस्तरमा पाइने सामग्रीबाट पनि उद्दार गर्न सकिने कौशलता सशस्त्र, सेना र प्रहरीले देखाएका थिए ।

आपतको समयमा प्रविधियुक्त डुंगा नभएमा पानीका वोत्तल, केरा, डोरी, गाडीमा प्रयाेग हुने ट्युव लगायतका साधनबाट नागरिकहरुलाई बचाउन सकिने उत्कृष्ट कला सुरक्षा निकायका तालिमप्राप्त टोलीले देखाएका छन् । उद्दार गरेपछि विवरण संकलन, प्राथमिक उपचार, राहत वितरण र गम्भीर प्रकृतिका घाइतेलाई एम्बुलेन्सबाट कसरी बाहिर लैजाने विषयमा स्थल नै बनाइएको थियो ।

सुरक्षा निकाय, स्वास्थ्यकर्मी, रेडक्रस, स्थानीय तह र स्थानीयको सहयोग तथा समन्वयमा उद्दार कार्यलाई प्रभावकारी बनाउन विपद् पूर्व अभ्यास कार्यक्रम गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । ‘विपदको समयमा कसरी उद्दार गर्ने भन्ने अन्यौलता हुने भएकाले हाम्रो आवश्यक पूर्व तयारीमा कस्तो छ भन्ने बुझ्न पनि कार्यक्रम गरिएको हो,’ रिजालले भने, ‘विपद पूर्व जानकारी दिएर नआउने भएकाले त्यस्तो समयमा कसरी उद्दार टोली पठाउने र कस्तो काम गर्ने विषयमा स्पष्ट हुन विपद पूर्व अभ्यास गरिएको छ ।’

मनसुन नेपाल प्रवेश गरेसँगै सुर्खेत जिल्लामा बाढी र पहिरोको प्रभावित क्षेत्र, क्षतीको आँकलन, जोखिम बस्तीलाई सुरक्षित स्थानमा पु¥याउने तयारी लगायतको कार्ययोजना सार्वजनिक गर्न लागेको रिजालले जानकारी दिए । उद्दारका लागि जनशक्तिको व्यवस्था, आवश्यक सामग्रीको उपलव्धता र राहत सामग्री व्यवस्थापनको पूर्व तयारी गरिरहेको रिजालले उल्लेख गरे ।

पूर्व अभ्यासले उद्दार कार्यमा अभ्यस्त हुन सिकाउँछ : डाँगी
चिप्लेमा गरिएको पूर्व अभ्यास उद्दार कार्यले विपदको समयमा हुन सक्ने सम्भावित घटनामा छिटो र छरितो रुपमा उद्दारमा खटिन सहयोग पुग्ने रक्तकाली गण सुर्खेतका एसपी विमल डाँगी बताउँछन् । ‘हामीसँग जनशक्ति तयारी अवस्थामामै रहन्छ, तर उनीहरुलाई विपदको बेला कसरी खटाउने र उद्दारमा खटिदा अपनाउनु पर्ने विषयमा अभ्यस्त हुन सिकाउँछ,’ डाँगी भन्छन्, ‘मुलतः पूर्व अभ्यासले विपदको बेला उद्दार कार्यमा सबैको समन्वयमा नागरिकहरुको जीवन रक्षामा एकजुट हुन अभ्यस्त गराउँछ ।’

डाँगीकाअनुसार विपदकाे समयमा हुन सक्ने सम्भावित घटनाहरुमा उद्दार र खाेज कार्यमा खटाउँन तयारी अवस्थामा टाेली राखिएकाे छ । उनले मनसुन बेला घटनाहरुकाे जानकारी लिन जिल्लामा रहेका सशस्त्र प्रहरी युनिटलाई २४ घण्टा सूचना उपलव्ध गराउन पनि तयारी अवस्थामा राखिएकाे उल्लेख गरे ।

तपाईको प्रतिक्रिया