मुगुको छायानाथ राराका नागरिक फोन गर्न रूख चढ्छन्

सुर्खेत । जिल्ला सदरमुकाममै फोन गर्न रुख चढ्नुपर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर मुगुको सदरमुकाम रहेको छायानाथ रारा नगरपालिका–१३, लुमगाउँ र १४ वडाको बामगाउँका बासिन्दा फोन गर्न मोबाइल लिएर अग्ला रुख चढ्छन्।

स्थानीय राजेन्द्र बुढाका अनुसार फोनमा कुरा गर्न दैनिक अग्ला रुख नै चढ्नपर्ने बाध्यता छ। ‘सदरमुकामभित्रका गाउँमा यस्तो हाल छ भने गाउँमा के अवस्था होला?’, उनले प्रश्न गरे। मुगुमा चारवटा स्थानीय तह रहेको छ। अधिकांश ठाउँमा सञ्चार सेवा उपलब्ध नहुँदा सर्वसाधारण हैरान छन्।

नेपाल टेलिकम मुगुका निमित्त कार्यालय प्रमुख गणेश डिसीले गाउँमा सञ्चार सेवा सहज बनाउन टावर बनाउने काम जारी रहे पनि निर्माण कम्पनीले सामग्री ढुवानीमा ढिलो गरेको बताए।

नागरिक समाजका अगुवा रूपबहादुर मल्ल सर्वसाधारणले फोन गर्नैका लागि रुख र डाँडामा चढ्नुपर्ने बाध्यताबारे सरकारले ध्यान नदिएको गुनासो गरे। दिन प्रतिदिन प्रविधिको विकासका कुरा गरे पनि यहाँका नागरिकले त्यसको अनुभूति नभएको उनको भनाइ छ।

नेपाल टेलिकम संवेदनशील भई निर्माण सामग्री छिटो ढुवानी गर्नुपर्ने यहाँका स्थानीयको माग छ। थाहाखबरबाट

तपाईको प्रतिक्रिया