मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंकबीच सम्झौता

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंक लिमिटेडबीच सम्झौता भएको छ । मंगलबार विश्वविद्यालय, उपकुलपति कार्यालयमा विश्वविद्यालय र नेपाल बैंक लिमिटेडबीच सहकार्य गर्ने सम्झौता भएको हो ।

कार्यगत एकता र आपसी सहयोगलाई निरन्तरता दिँदै दुबै संस्थाबीचको सुमधुर सम्बन्धलाई भविष्यमा थप मजबुत बनाउने उद्देश्यका साथ विश्वविद्यालय र बैंकबीच सम्झौता भएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको सम–उपस्थितीमा विश्वविद्यालयकोतर्फबाट रजिष्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेल र नेपाल बैंक लिमिटेडकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

विभिन्न १३ बुँदे उक्त समझदारी पत्रमा विश्वविद्यालय र बैंक दुबै संस्थाबीचको आपसी सम्बन्धलाई वित्तीय कारोवारहरु मार्फत विस्तार गर्दै दुबै संस्थाहरुलाई वित्तीय हित हुने गरी थप आयामहरु विस्तार गरिने कुरा उल्लेख गरेको छ ।

जसमार्फत विश्वविद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक, शिक्षक, कर्मचारी र विद्यार्थी सम्पूर्णले बैंकद्वारा प्रदान गरिने सेवा सुबिधा सहज र सुलभ तवरले प्राप्त हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा नेपाल बैंक लिमिटेड, कर्णाली प्रादेशिक कार्यालयका प्रमुख आश्विनकुमार पुडासैनी, उपकुलपति सचिवालयका सदस्यहरु, विश्वविद्यालयका कर्मचारी तथा नेपाल बैंक लिमिटेडका कर्मचारी र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया