वर्षा गराउने मनसुन पश्चिम भित्रिएकै हो त ?

मौसमविद भन्छन्, ‘तीन दिन अझै सम्भावना छैन’

सुर्खेत । यहीँ आइतबार सुर्खेतको अधिकतम तापक्रम ३४ डिग्री आसपासमा थियो । तापक्रम बढेपछि गर्मी स्वभाविक रुपमा बढ्ने नै हुन्छ । गर्मीका कारण सुर्खेतसहित आसपासका टारहरुमा जनजीवन प्रभावित बनेको थियो । तर सोमबार दिउँसो सुर्खेत उपत्यका आसपासमा हल्का वर्षा भएपछि नागरिकहरुलाई केही राहत महशुस भएको छ ।

हरियाे रेखामा हाल सुदूर र कर्णाली प्रदेशमा प्रवेश गरेकाे पश्चिमी वायु र वर्षातकाे समयमा नेपाल प्रवेश गर्ने मनसुनकाे प्रक्रिया राताे रेखामा । तस्वीर चीनकाे माैसमी अपडेट स्याटेलाइटबाट

सुर्खेतमा राहत महशुस हुने खालको वर्षा प्रायः दैनिक जसो दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, डोल्पा आसपासका जिल्लाका केही स्थानमा हल्कादेखी मध्यम वर्षा भइरहेकै छ । तर सुर्खेत आसपासमा भने सोमबार मंगलबार दिउँसो प्रचण्ड गर्मीमा राहत दिनेगरी मध्यम वर्षा भएको हो । सुर्खेत उपत्यकामा वर्षा गराउने पश्चिमी वायु प्रवेश गरेकाे हाे तर पूर्वतर्फ प्रवेश नगरेर सिधै सुदूरपश्चिमबाट सुर्खेतकाे पश्चिम क्षेत्र लगाम र गुठु आसपासबाट उत्तरी दिशा लागेपछि उपत्यकामा वर्षा नभएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

पछिल्लो २४ घण्टाको वर्षाको मापन हेर्ने हो भने धनगढीमा २१ दशमलव ३ मिलिमिटर वर्षा भएको छ । सोही दिशाबाट सुर्खेत प्रवेश गरेको पश्चिमी वायुले वीरेन्द्रनगरमा झण्डै ४ र जुम्लामा ३ दशमलव ४ मिलिमिटर मात्रै वर्षा भएको मापन जल तथा मौसम विज्ञान विभागले गरेको छ । सुर्खेतमा वर्षा भएपछि अधिकतम तापक्रम ३२.६ र न्यूनतम तापक्रम २१.५ डिग्री सेल्सियस छ । सामान्य वर्षाहुँदा सुर्खेतमा करिव २ डिग्री सेल्सियस तापक्रममा गिरावट आएको छ ।

के मनसुन कर्णालीमा भित्रिएकै हो त ?
सोमबार र मंगलबार दिउँसो हल्का वर्षाहुँदा कतिपयले बर्खा लागिसकेको आँकलन गरेका छन् । मनसुन भित्रियो अब लामो यात्रामा जानु उपयुक्त हुँदैन भन्ने सतर्कता अपनाउन थालेका छन् । तर मौसम पूर्वानुमान महाशाखामा मौसविद् गंगा नगरकोटीले लुम्बिनीका केही जिल्ला बाहेक कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुन भित्रन अझै केही समय लाग्ने बताउँछिन् ।

‘सुर्खेत आसपासमा भइरहेको वर्षा मनसुनका कारण नभई पश्चिमी वायुको प्रभाव हो,’ मौसमविद् नगरकोटी भन्छिन्, ‘पश्चिमी वायुको न्यून चापिय रेखा पाकिस्तानमा रहेकाले त्यसैको प्रभाव सुदूर र कर्णाली प्रदेशमा परेको छ । पश्चिमी वायुको स्थानीय वायुको मिश्रणहुँदा केही क्षेत्रमा दिउँसो र साँझ पख हल्कादेखी मध्यम वर्षा भइरहेको छ ।’

नेपाल भित्रने मनसुन समय अगावै भित्रिदा पनि पश्चिम क्षेत्रमा किन फैलिन सकेन भन्ने नेपालीरैबारकर्मीको प्रश्नमा मौसमविद नगरकोटीले भनिन्, ‘मनसुनभन्दा पश्चिमी वायु शक्तिशाली बन्दा पश्चिम नेपाल प्रवेश गर्न खोज्ने मनसुनलाई पूर्वउत्तर फर्काउँदा अझै केही दिन कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुनी प्रभाव रहने सम्भावना छैन ।’

महाशाखाले तीन दिनको मात्रै मौसम पूर्वानुमान गर्ने भएकाले अबको तीन दिन पश्चिम क्षेत्रमा मनसुनको प्रभाव नरहने आँकलन गरिएको नगरकोटी बताउँछिन् । ‘पश्चिम क्षेत्रमा पानी पर्न पश्चिमी वायु कमजोर बनेर मनसुन प्रवेश गर्नु पर्ने हुन्छ,’ नगरकोटीले भनिन्, ‘पश्चिमी वायु तत्कालै कमजोर बन्ने सम्भावना छैन । मनसुनको गतिविधि कर्णाली र सुदूरपश्चिममा बढ्न मनसुनले पश्चिमी वायुलाई विस्थापन गर्नुपर्ने हो त्यो प्रक्रिया मनसुनमा हुन नसक्दा पश्चिमी र स्थानीय वायुकै कारण केही दिनमा पश्चिम क्षेत्रका कतिपय क्षेत्रमा हल्का वर्षात भइरहने सम्भावना छ ।’

तपाईको प्रतिक्रिया