सुर्खेत । पश्चिमी वायुका कारण कर्णालीमा भित्रन नसकेको यो वर्षको मनसुन विधिवत रुपमा प्रवेश गरेको छ । पाकिस्तानमा न्यून चापीय रेखाका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशमा पछिल्लो केही साता पश्चिमी वायु सक्रियहुँदा मनसुन प्रवेश गर्न सकेको थिएन् । तर शुक्रबार दिउँसोदेखी मनसुन कर्णालीलीसहित आसपास क्षेत्रमा प्रवेश गर्न लागेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद हिरा भट्टराईले नेपालीरैबारलाई जानकारी दिए ।
‘पश्चिमी वायुकै कारण मनसुन गण्डकी प्रदेशदेखी पश्चिम क्षेत्र प्रवेश गर्न सकेको थिएन । आजदेखी पश्चिमी वायु कमजोर भयो भन्दा पनि हुन्छ,’ मौसमविद् भट्टराईले भने, ‘पश्चिमी वायुलाई धकेल्दै मनसुनले आफ्नो सक्रियता कर्णालीमा र सुदूरपश्चिम प्रदेशमा देखाइएकाले आज राती वा भोलीदेखी ति क्षेत्रमा हल्कादेखी मध्यम वर्षा हुने अधिक सम्भावना छ ।’
हाल भारतको उत्तर प्रदेश र आसपासमा रहेको मनसुनको न्यून चापीय प्रणालीको नेपालमा प्रभाव रहेको उनको भनाई छ ।‘मनसुन सक्रिय भएसँगै भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहन्छ,’ मौसमविद् भट्टराईले भने, ‘नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।’ उनले वर्षा नभएका स्थानहरुमा तापक्रम बढ्न सक्ने हुनाले त्यसबाट हुने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।
नेपालीरैबार । २०७९ असार १०, शुक्रबार