सुर्खेत । बीमा समितिका उपनिर्देशक तथा कर्णाली प्रदेश प्रमुख पदमप्रसाद सोडारीले कर्णाली प्रदेशमा बीमाको पहुँच वृद्धि गर्नुपर्ने आवाश्यकता रहेको बताएका छन् । उनले कर्णालीका नागरिकहरुलाई बीमाको बारेमा सचेतना फैलाउन आवाश्यक भएको बताएका हुन् ।
बीमा समितिको कर्णाली प्रदेश कार्यालयले प्रदेशभित्रका बीमा कम्पनीका प्रदेश प्रमुखहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै उनले भने,‘ अझै पनि मान्छेहरु बीमाबारे अनभिज्ञ छन् । बीमाको पहुँच वृद्धिसँगै दाबी भुक्तानी समेत अझै सरल र सहज बनाउनुपर्छ ।’
कार्यक्रममा बीमा कम्पनीका प्रदेश प्रमुखहरुले प्रदेशभित्रका बीमाका समस्या, समाधानका उपायहरुका बारेमा छलफल गरेका थिए । युनाईटेड इन्स्योरेन्स बीमा कम्पनीका कर्णाली प्रदेश प्रमुख धीरेन्द्र शाहीले कर्णालीमा बीमा सम्बन्धी गतिविधि अझै सक्रिय हुन नसकेको बताए । उनले भने,‘ पहिलो कुरा त बीमाबारे यहाँका नागरिकहरुलाई जनचेतना फैलाउन जरुरी छ । त्यसका लागि सरकारी निकायले पनि ध्यान दिनुपर्ने छ ।’
कार्यक्रममा बीमा समितिका सहायक निर्देशक राजेन्द्र महर्जनले बीमाको पहुँच वृद्धि हुने गरि काम गर्न आग्रह गरे । बीमा कम्पनीका प्रदेश प्रमुखहरुले यस क्षेत्रका समस्या, भोग्नु परेको अप्ठेरोहरुका बारेमा बीमा समितिलाई जानकारी गराएका थिए ।
नेपालीरैबार । २०७९ असार १४, मंगलवार