धान दिवसमा मन्त्रीको तामझाम, कृषक निराश

सुर्खेत । १९ औं राष्ट्रिय धान दिवसमा मन्त्रीसहितको टोलीले तामझामका साथ हिलोमा पसेर धान रोपेर दिवस मनाइरहँदा सुर्खेतका कृषकहरुको अनुहारमा भने कुनै उल्लास छैन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीसहितको टोली बाजामा मस्त रमाउँदा कृषक मणिराम चौधरी धान रोपाईका लागि खेतमा आली हाल्नमा व्यस्त थिए ।

३५ कठ्ठा जमिनमा उब्जनी हुने धानले उनको वर्षभरीको खर्च टर्छ । तर मौसमले यो वर्ष समयमै साथ दिएपनि रासायनिक मलको भरमा उब्जनी हुने खेतीमा मलविनाको धान कस्तो फल्ने हो चिन्ता उनमा छ । उनी मात्रै हैन कृषक कृष्णाकुमारी थापा समयमै मल नपाउँदा उत्पादनमा गिरावट आउने भन्दै चिन्तित छन् । ‘पहिल्यै मल नहालेको भए बाली भए हुन्थ्यो नभए केही लाग्थेन्, रासायनिक मल नहुँदा धान राम्रो नफल्ने चिन्ता लागेको छ,’ कृषक चौधरीले भने, ‘धानको ब्याड राख्दा पनि मलविनै राख्यौं, अहिले धान रोप्दा पनि म पाउने टुंगो छैन् ।’

वीरेन्द्रनगर नगरपालिका १० मनिकापुरमा भूमि व्यवस्था, कषि तथा सहकारी मन्त्रालयको सहयोगमा स्थानीय एक सहकारीले आयोजना गरेको दिवसमा मन्त्रीसहित कर्मचारीहरु रमाईरहँदा आसपासका कृषकहरुमा कुनै रौनकता थिएन् । धान उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापनका लागि मलबिउ अभाव र सिँचाइ असुविधाजस्ता कृषिमा देखिएका समस्याहरू सामधान गर्नमा सरकारले ध्यान नपु¥याएको कृषक डिलबहादुर विसीको गुनासो छ ।

‘हिजो मात्रै धान रोपेर सके, मल हाल्न पाएको भए धान खेती राम्रो हुन्थ्यो,’ विसी भन्छन्, ‘मल पाउने टुंगो छैन्, मन्त्रीहरुलाई हिलोमा कए घण्टा रमाउन ठिक्कै छ । हुने खानेलाई चिन्ता छैन् मर्ने भनेकै हामी कृषक त हो नि ।’ उनले एक घण्टा कृषकको साथमा रमाउनुभन्दा कृषकहरुका वास्तविक पीडाहरु सम्बोन्धन गर्न सरकार गम्भीर बनेको भए दिवसले सार्थकता पाउने तर्क गरे ।

मानो रोपी मुरी उब्जाउने सिजनमा मलको सहज उपलव्धता नहुनु सरकारको लापरवाही भएको कृषक बताउँछन् । कृषकको जीवनस्तर उकास्ने योजना सरकारले बजेटमा समावेश गरेपनि समस्या ज्यूकात्यू छन् । तर रासायनिक मल उपलव्ध गराउने दायित्व केन्द्र सरकारको भएकाले प्रदेश सरकारले केही गर्न नसक्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही बताउँछन् । ‘मलका लागि केन्द्र सरकारसँग पहल गरिरहेका छौं, यो कर्णालीको मात्रै समस्या हैन नि,’ मन्त्री शाही भन्छन्, ‘मल मात्रै नभएर कृषकका अन्य थुप्रै समस्या रहेकाले ति समाधान गर्नमा हामी गम्भीर छौं ।’

कर्णालीका कृषकलाई मल वितरण गर्ने जिम्मा पाएको कृषि सामग्री केन्द्रले ७० र साल्ट टे«डिङ्ग कर्पोरेशनले ३० प्रतिशत पाएको हो । तर यो वर्ष कर्णालीमा हालसम्म रासायनिक मल युरिया आएको छैन् । प्रदेशभर झण्डै ४० प्रतिशत धान रोपाई सकिदा कृषकले मल नपाएको कृषि विकास निर्देशनालका निर्देशक चित्रबहादुर रोकाय बताउँछन् ।

उनले विउविजनमा कुनै समस्या नभएको तर सल्यान, सुर्खेत, जाजरकोट र रुकमपश्चिमका कृषकहरुले मल नपाउँदा वाली उत्पादनमा ह्रास आउने देखिएको जनाए । मलको आपूर्ति व्यवस्था सहज बनाउन सरकारले नै जारी गरेको मल नीति छ ।

नीतिअनुसार बाली लगाउनु ६ महिनाअघि नै मल सुनिश्चित गर्ने र बाली लगाउने बेला घरदैलोमा पु¥यादिने उल्लेख गरिएको छ । तर, ढुवानी-टेन्डरमा हुने कमिसनको चक्करले किसानले खेतीको सिजनमा भने कहिलै मल पाउन सकेका छैनन्  । अर्थतन्त्र सुधारको प्रमुख सम्भाव्य क्षेत्र भनेकै धानबाली हो । तर, परिणाम दिने काम नगर्ने, देखावटी कार्यक्रम मात्रै गर्ने कार्यले धानको उत्पादन बढाउँदैन भने धान दिवसलाई सार्थक बनाउन धानबालीका प्रमुख समस्याहरू सामधानका निम्ति सरकारले जोड दिन आवश्यक रहेको कृषक बताउँछन् ।

तपाईको प्रतिक्रिया