कर्णालीमा २८ प्रतिशत रोपाइँ

सुर्खेत। कर्णाली प्रदेशभर जम्मा २८ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । रासायनिक मलको अभाव र समयमै मनसुन सक्रिय नहुँदा धान रोपाइँ ढिला भएको किसानहरूले बताएका छन् ।

‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ धान दिवस मनाइएको हो । धान दिवसको अवसर पारेर कर्णालीमा सार्वजनिक बिदासमेत दिइएको थियो । विगतका वर्षहरूमा यो अवधिमा आधा क्षेत्रफलमा रोपाइँ सम्पन्न हुने गरेकोमा यसपटक ढिला भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । प्रदेशमा सबैभन्दा धेरै जुम्लामा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने सबैभन्दा कम सुर्खेतमा पाँच प्रतिशत भएको छ ।

मन्त्रालयका अनुसार प्रदेशमा ३८ हजार आठ सय ८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । असार १५ सम्म कूल रोपाइँ हुनेमध्ये १० हजार आठ सय ९२ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा सबैभन्दा धेरै जुम्लामा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने सबैभन्दा कम सुर्खेतमा पाँच प्रतिशत भएको छ ।

यस्तै, डोल्पामा ९६, हुम्लामा ७२, कालीकोटमा ६०, मुगुमा ३४ र सल्यानमा ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ गरिएको छ । त्यस्तै, आधा असारसम्म रुकुम–पश्चिममा ४० र जाजरकोटमा ३८ प्रतिशत धान रोपिएको छ । यसपालि कर्णालीका केही जिल्लामा चैत महिना तथा बाँकीमा असार लागेपछि रोपाइँ सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया