असारे विकासको प्रवृत्तिले वीरेन्द्रनगर बजार क्षेत्र अस्तव्यस्त

सुर्खेत। असारे विकासको प्रवृत्तिले वीरेन्द्रनगर बजार क्षेत्र अस्तव्यस्त बनेको छ । बजारको मुख्य सडक विस्तारका लागि पानी र विद्युतका संरचना सार्ने क्रममा लापरबाही भएको पाइएको छ । सडक विस्तार कार्यमा भइरहेको लथालिङ्गले व्यवसायी, बजार क्षेत्रका बासिन्दा र बटुवा तथा सवारी साधनहरूलाई आवतजावतमा नै समस्या भइरहेको हो । हचुवाको भरमा विकास निर्माणका काम गर्दा बजार नै अस्तव्यस्त बनेको स्थानीयको गुनासो छ । केही दिनयता बजारमा खानेपानीको पाइपलाइन स्थानान्तरण गर्ने काम चलिरहेको छ । सोही क्रममा पसल र घर अगाडी ठूला खाल्डा खनिएका छन् । पाइप सारिसक्दा पनि ती खाल्डा भने पुरिएको छैन । लाइन खन्दा डोजरको प्रयोग गरिएकाले धेरै उपभोक्ताका पानीका पाइपसमेत काटिएका छन् । यस्तो विकास शैलीले आफूहरू आजित भएको वीरेन्द्रनगर–६ का अशोक थापा बताउँछन् । उनले पाइप लाइन सार्दा पारिएका खाल्डा नपुरिएको भन्दै दुर्घटनाको जोखिम रहेको बताए । थापा भन्छन्, ‘बर्खाको समय छ, घर अगाडी हप्तादिनदेखि डोजरले खनेका खाल्डा छन् । सम्बन्धित निकायको हेलचक्य्राइँले हुनसम्म सास्ती भएको छ ।’

वीरेन्द्रनगरको मंगलगढीदेखि गणेशचोकसम्म सडक विस्तार योजनाको टेण्डर भएको नौ महिनापछि केहीदिन अघिबाट खानेपानीका पाइपलाइन हटाउन सुरु गरिएको छ । खानेपानीका संरचना सारेपछि मात्रै सडक विस्तारको काम अघि बढाइने भएको छ । सडक क्षेत्रमा पर्ने विद्युतका संरचना सार्दासमेत लामो समय बजार क्षेत्रका बासिन्दा मर्कामा परेका थिए । सडक क्षेत्रको अवरोध व्यवस्थित तरिकाले समयमै नहटाइँदा स्थानीयलाई सास्तीसँगै सडक विस्तार कार्यमा पनि ढिलाइ भएको हो । निर्माणको ‘साइड’ खाली नहुँदा ठेक्का सम्झौता भएको नौ महिना बितिसक्दा पनि कामको थालनी गर्न नसकिएको ठेकेदार कम्पनीले बताउँदै आएको छ । सडक विस्तारका लागि गएको भदौ १७ गते पूर्वाधार विकास निर्देशनालयले खड्का निर्माण सेवा कोहलपुरसँग निर्माण सम्झौता गरेको थियो ।

झन्डै पाँच महिना लगाएर विद्युतका संरचना सारिए पनि सडकको दुईतर्फ रहेका खानेपानीका पाइपलाइनको काम अझै सम्पन्न भएको छैन । पूर्वाधार विकास निर्देशनालयले खर्च व्यहोर्नेगरी पाइपलाइन स्थानान्तरणको काम भइरहेको छ । निर्देशनालयले पाइपलाइन सार्न ५० लाख बजेट उपलब्ध गराएको छ । उक्त काम वीरेन्द्रनगर–६ को वडा निर्माण समितिमार्फत चलिरहेको छ । सडक विस्तार क्षेत्रमा पर्ने एक हजार आठ सय सय ८० मिटरसम्म खानेपानीका पाइपलाइन सार्नुपर्ने देखिएको वीरेन्द्रनगर नगरपालिकाका योजना शाखा प्रमुुख हरि केसीले बताए । ‘काम सुरु भएको दुई साताजति भयो,’ उनले भने, ‘लाइन खन्ने र पाइप बिछ्याउने काम चलिरहेको छ । भल्भ च्याम्बर बनाउन बाँकी नै छ ।’ उनका अनुसार यो क्षेत्रमा १५ वटा भल्भ च्याम्बर निर्माण गर्नुपर्ने छ । पाइप लाइनको काम असार मसान्तसम्म सकिने र निर्माणको क्रममा खनिएका तथा भत्काइएका संरचना नगरपालिकाले नै मर्मत गर्ने केसीले जनाए । बजार क्षेत्रका बासिन्दाले पुराना पाइपलाइन चुडिँदा खानेपानीको समस्या भइरहेको भन्दै आपत्ति जनाएका छन् । विनाप्राविधिक हचुवाको भरमा लाइन खनिएको उनीहरूको गुनासो छ । सडक विस्तार क्षेत्रका झन्डै ६० घरधुरीका खानेपानीका पाइप काटिएको स्थानीय भक्त श्रेष्ठले बताए । ‘विकास गर्ने नाममा हामीलाई हैरानी भयो,’ उनले भने, ‘धारामा पानी आउँदैन, भत्काइएका संरचना समयमै बनाइदिनु प¥यो, अधुरो काम गरेर छोडिदिनु भएन ।’

स्थानीयले नयाँ पाइपलाइन विस्तार गर्दा काममा गुणस्तरसमेत नभएको आशंका गरेका छन् । पाइप जोड्ने तरिका उचित नभएकाले काम गुणस्तरहीन भएको वीरेन्द्रनगर–६ का जंगबहादुुर प्याकुरेलको आरोप छ । उनले पाइप जडानमा लापरबाही भएको दाबी गरे । प्याकुरेल भन्छन्, ‘पाइप जोड्दा वासर र बाहिरी सपोर्टको प्रयोग नै भएको छैन । पाइप पगालेर जोडिएको छ । यसरी बनाइका पाइपलाइन कति दिन चल्छन् ?’ काममा लापरबाही भएको भन्दै स्थानीयले नगरपालिकाले अनुगमन गर्नुपर्ने समेत बताएका छन् । निकायगत समन्वय अभावले पनि विकास निर्माणका काम अस्तव्यस्त हुने गरेको प्याकुरेल बताउँछन् । पाइपलाइनको स्टमेट सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले गरेको हो । लाइन सार्दा भने आफूहरूले समन्वयकारी भूमिका निभाइरहेको संस्थाका इन्जिनियर बालाराम तिवारीले जनाए । लाइन जडानपूर्वका काममा केही विलम्ब भएपनि काम गुणस्तरीय नै भइरहेको वीरेन्द्रनगर नगरपालिकाका योजना शाखा प्रमुख केसीको दाबी छ । पाइपलाइन सार्ने काम मात्र नभइ बजार क्षेत्रमा अधिकांश निर्माणका काम असार लागेपछि सुरु भएका छन् । ढल निकास र सडक स्तरोन्नतिजस्ता काम सुरु गरिएपनि लामो समयसम्म अधुरै छोड्ने गरिएको छ । साझा बिसौनी दैनिकले समाचार लेखेकाे छ ।

 

तपाईको प्रतिक्रिया