वीरेन्द्रनगरका थप नौं ठाउँमा हाइमार्स लाइट जडान गरिँदै

सुर्खेत । उज्यालो वीरेन्द्रनगर र सुरक्षित वीरेन्द्रनगर शहर बनाउने उदेश्यले यो आर्थिक वर्षमा थप नौं स्थानमा हाइमार्स लाइट जडान गर्न लागिएको हो । प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको समन्वय तथा संयुक्त लगानीमा वीरेन्द्रनगरमा नौं स्थानमा हाइमार्स लाइट जडान गर्न निर्माण शुरु गरिएको हो ।

नगरपालिकाले लाइट जडान गर्न लागिएका क्षेत्रहरुमा रेडियो नेपाल चोक, मुलपानी चोक, शिवालय चोक, सहकारी चोक र वीरेन्द्रनगर–१२ को सत्यनारायण चोकमा लाइट राख्न निर्माण शुरु गरिएको नगरपालिकाका ईन्जिनियर विशाल अधिकारीले नेपालीरैबारलाई जानकारी दिए ।

उनकाअनुसार कुमाई चोक, एयरपोर्ट नजिकै रहेको तिनकुने चोक, मुख्यमन्त्री निवास र वीरेन्द्रनगर भित्रने पश्चिमको मुख्य नाका बाँगेशीमल प्रहरी चौकी नजिकै पनि लाइट जडान गरिनेछ । ‘एकसाता अघि मात्रै सम्झौता गरेर निमार्ण व्यवसायीले काम शुरु गरेको छ,’ ईन्जिनियर अधिकारीले भने, ‘प्रदेश सरकारले रकम ढिला नगरपालिकाको खातामा पठाउँदा असार तेस्रो सातादेखी काम थालेका छौं ।’ नौं स्थानमा लाइट राख्न प्रदेशले एक करोड रकम पठाएको हो ।

तर नगरपालिकाले हाइमार्स लाइट निर्माणका लागि एक करोड नौं लाखको लागत स्टिमेट तयार गरेको थियो । तर ठेक्का आह्वानको क्रममा कोभाल्ट ईन्टरनेश्नले काठमाडौंले घटेर ६५ लाख ८९ हजारमा निर्माणका लागि सम्झौता गरेको छ ।

नगरपालिकाले गत आर्थिक वर्षमा वीरेन्द्रनगरका १२ स्थानमा एक करोड २० लाख लागतमा हाइमार्स लाइट जडान गरिसकेको छ । थप लाइट सञ्चालनमा आएमा रात्रिकालिन शहरको सौन्दर्यता, शान्ति सुरक्षा र ट्राफिक व्यवस्थानमा प्रभावकारी हुने अपेक्षा नगरपालिकाका प्रमुख मोहनमाया ढकालको छ ।

तपाईको प्रतिक्रिया