नक्कली जग्गाधनीकाे वयान : एक जोर लुगा दिन्छाैं भन्थे त्याे पनि पाएन

सुर्खेत। अर्काको जग्गा कीर्ते गरेर आफ्नो नाममा ल्याएका अभियुक्त सहवीर कार्कीले एक जोर कपडाको लोभमा पर्दा आफू फसेको बताएका छन्। कार्कीले आफू काम गर्ने बाख्रा फर्मका सञ्चालक गणेश बुढा, जग्गा कारोवारी सन्तोष ठाकुर र निर्मल पुरीले जग्गा नाममा ल्याउन सहयोग गरेवापत आफूलाई एक जोर नयाँ कपडा दिने प्रलोभन दिएको बताएका हुन्।

याे पनि पढ्नुहाेस् : मालपोतका कर्मचारीसहित १३ जनालाई जग्गा किर्ते र ठगी गरेकाे कसुर ठहर

‘साहुले भनेपछि नाई भन्न सकिनँ,’ प्रहरीले अदालतमा बुझाएको उनको बयानमा भनिएको छ, ‘बाचा अनुसार नयाँ कपडा पनि किनिदिएनन्।’ कार्कीका अनुसार २०७७ असार पाँच गते तीनै जना वीरेन्द्रनगर–१ स्थित डेरामा आएर जग्गा तपाईको नाममा गरिदिन्छौं, त्यसवापत नयाँ कपडा किनेर दिन्छौं भनेका थिए।

‘असार आठ गते वडा कार्यालय, नापी र मालपोत कार्यालयमा पुर्‍याए,’ उनले बयानमा भनेका छन्, ‘एकै दिन जमिन मेरो नाममा आयो।’ प्रदेश राजधानी वीरेन्द्रनगर–१२ को करोडौं मूल्यको सौगात रावतको नाममा रहेको छ कट्ठा जमिन असार आठ गते एकैदिन वडादेखि मालपोतसम्म फाइल पुर्‍याएर कार्कीको नाममा दर्ता गरिएको थियो।

कार्कीसँग वीरेन्द्रनगरमा एक टुक्रा जमिन किन्ने आर्थिक हैसियत छैन। दैलेखबाट मजदुरी गर्न झरेका उनी बुढाको सम्पर्कमा पुगेका थिए। जग्गा दलालहरुले असार आठ गते कार्कीको नाममा नामसारी गरेको जमिन त्यसको भोलिपल्टै अरुलाई बिक्री गरेका थिए।

‘असार ९ गते फेरि मालपोत कार्यालय लगेर गए,’ कार्कीले अदालतमा दिएको बयानमा भनिएको छ, ‘माक्स लगाएका मालपोतका कर्मचारीले भनेको ठाउँमा ल्याप्चे लगाएर फर्किएँ।’ उनले बयानका क्रममा मुल जग्गाधनीलाई आफूले नचिनेको बताएका छन्।

‘वडादेखि मालपोतसम्म कहीँ पनि मुल जग्गाधनी आएनन्, सबै काम बुढा, ठाकुर र गिरीलेनै गरेका हुन्,’ उनले भनेका छन्, ‘वडा, नापी र मालपोतका कर्मचारीसँग पहिलेनै मिलाएका रहेछन्, मैले ल्याप्चे र हस्ताक्षर मात्रै गरेको हुँ।’

तपाईको प्रतिक्रिया